महिला आन्दोलनको इतिहास

काठमाडौं । नेपालमा महिला आन्दोलन र यसका विविध आयाम समेटिएको पुस्तक ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी’ सार्वजनिक भएको छ । पुस्तकको लेखन कुञ्ज नयाँबानेश्वरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, नेपाली काग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष सावित्री जंगम थापा, उपाध्यक्ष कल्याणी शाह, घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, पत्रकार एवं पुस्तकका सम्पादक टंक पन्तले संयुक्तरुपमा विमोचन गरे । घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । पुस्तकमा सामाजिक, राजनीति, महिला अधिकार तथा विकास, प्रशासन र कानुन, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म संस्कृति र साहित्य, सञ्चार, ट्रेड युनियन, संगीत र कला, खेलकुद र इतिहास लगायतका विविध विषयमा थुप्रै विद्वानका विचार रहेका छन ।

सो कार्यक्रममा नेतृ हिसिला यमीले नेपालमा अब महिला चाँडै प्रधानमन्त्री हुने जिकिर गरिन् । अर्की नेतृ शशी श्रेष्ठले नेपाली महिलाको एक शताब्दीको आन्दोलनको पुस्तक आएकोमा खुसी व्यक्त गरिन् । उनले संघर्षको मैदानमा अझै महिलाहरू रहिरहेकाले महिला अधिकार र आन्दोलनसँगै दबाब अझै कायम गर्नुपर्ने धारणा व्यक्त गरिन् । कांग्रेस नेतृ पुष्पा भुसालले समाज नयाँ तरिकाले बन्दै गएकाले नेपाली महिला तदनुरुप परिचालित हुनु आजको आवश्यकता रहेको भनाइ राखिन् । लेखन कुञ्जका अध्यक्ष एवं प्रकाशन व्यवस्थापनका तर्फबाट बोल्दै कमल ढकालले नेपाली महिला र संसारमा भएको महिलाको अवस्थाको फरकतालाई औंल्याएका थिए ।

प्रतिक्रिया