कसको नेतृत्वमा राजावादी आन्दोलन ?

काठमाडौं । कात्तिकदेखि देशका विभिन्न सहरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन् । विभिन्न संघसंस्थाको फरकफरक ब्यानरमा सामूहिक रूपमा त्यो संस्थाले गतिविधि गर्दै आइरहेका छन् । शनिबार राजधानी काठमाडौं, झापा लगायतका स्थानमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको छ । तर, अहिलेसम्म यो कसको नेतृत्वमा भएको छ भनेर कहीँ पनि खुलाइएको छैन । गत १७ कात्तिकमा वीर गोर्खाली अभियानले बुटवलमा मोटरसाइकल र्याली निकाल्यो ।

त्यसयता विभिन्न ब्यानरमा राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शनहरू भएका छन् । राष्ट्रवादी नागरिक समाज, नेपाल विद्वत् परिषद्, स्वतन्त्र देशभक्त नेपाली नागरिक, पश्चिमाञ्चलवासी नेपाली जनता, नेपाल राष्ट्रवादी समूह, राष्ट्रिय शक्ति नेपाल, २०४७ को संविधान पुनःस्थापना अभियान लगायतका आगुवाइमा प्रदर्शनहरू भइरहेका छन् । सबैजसो प्रदर्शनमा युवाहरूको पनि उल्लेख्य सहभागिता भइरहेको छ । कतिपयले राजसंस्थाप्रति आस्था राख्ने दलका कार्यकर्ता पनि यो समूहमा लागेको भनाइ राखेका छन् ।

शनिबार काठमाडौंमा भएको ‘राष्ट्रिय नागरिक आन्दोलन’ नामक संस्थाले अगुवाई गरेको थियो । देशका विभिन्न भागमा भएका प्रदर्शनमा धेरै संस्थाको सहभागिता देखिए पनि आन्दोलनको नेतृत्व गर्ने कुनै एउटा शक्ति वा नेता नभएको स्वयं प्रदर्शनकारीहरू बताउँछन् । ‘राष्ट्रिय नागरिक आन्दोलन’का संयोजक बालकृष्ण भन्छन्, ‘यो नागरिकहरूको स्वतःस्फूर्त आन्दोलन हो । यसमा यो वा त्यो नेता भन्ने छैन । भोलि जनताले नेतृत्व तय गर्छ ।’

राजतन्त्र पक्षधरहरूले मुख्य रूपमा ०४७ सालको संविधानको पुनःस्थापनाको माग उठाएका छन् । विभिन्न समूह र उपसमूहमा विभाजित उनीहरूमध्ये अधिकांशमा देखिएको समानता पनि यो मागमै हो । त्यस्तै राजसंस्था पुनःस्थापनामा पनि उनीहरू एक देखिएको पाइएको छ । तर हिन्दू राष्ट्रबारे भने यी समूहबीच पनि फरक मतहरू रहेका छन् । कसैले हिन्दू धर्मसापेक्ष राज्यको माग गरिरहेका छन् भने कसैले हिन्दू अधिराज्य ।

कोरोना भाइरसका बेला सभा, प्रदर्शन नगर्न सरकारले चेतावनी दिए पनि त्यसलाई बेवास्था गरी प्रदर्शन भइरहेका छन् । दलका नेताहरू भने यो आन्दोलनले कुनै निष्कर्ष नदिने र प्रतिगमनलाई साथ दिन नसक्ने बताउँदै आएका छन् । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गर्नेलाई फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने भनेर प्रश्न गरेका छन् ।

उनीहरूको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विसंगति सफा गर्नेतर्फ अग्रसर हुन भनेका छन् । ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न, २ सय ४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय, क्षेत्रीय, लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’, उनले लेखेका छन् ।

प्रतिक्रिया