राजनीतिक प्रचारको लागि भ्रम नछर्न आग्रह

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले राष्ट्रको ढुकुटीबाट जनताका लागि विकास निर्माणको काम गरिएको अवस्थामा कुनै एक दल विशेषले राजनीतिक प्रचारका लागि हामीले गरेको कार्य भनेर जनतालाई भ्रम छर्न नहुने बताएका छन् ।

उनले मन्त्रालयको कार्यकक्षमा आज अपराह्न भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारसँग सम्बन्धित कार्यलय प्रमुख तथा सरोकार समितिको संयुक्त भेलालाई सम्बोधन गर्दै निर्माण व्यवसायीले आफूलाई राजनीतिकर्मीभन्दा व्यवसायी मात्रै भएर काम गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

उनले निर्माण व्यवसायीलाई गुणस्तरीय कच्चापदार्थ प्रयोग गरी निश्चित समयभित्र सडक निर्माणको काम सम्पन्न गरी यातायात सेवा सञ्चलनमा ल्याउनसमेत निर्देशन दिए ।

मन्त्री फुँयालले संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी, महालक्ष्मी खोलामा पुल निर्माण र हुमाने भञ्ज्याङ सडकखण्डको विस्तारका लागि बोलपत्र अह्वान गरिएअनुसार प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गरी कार्य सम्पादन गर्ने लक्ष्य भएको र सोहीअनुरुप सरकारी निकाय तथा जनप्रतिनिधिलाई जिम्मेवार भएर लाग्न निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रलयका सचिव सञ्जिव बरालले प्राविधिकको रेखदेख र अनुगमनबाट सडक निर्माणका लागि प्रयोग हुने कच्चा पदार्थबाट गुणस्तरीयता कायम राख्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै सडक निर्माणको कामलाई आवश्यक मेसिन र मजदूरको सङ्ख्या वृद्धि गर्नेतर्फ व्यवसायीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उक्त भेलामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आफ्नो गाउँपालिकाले काठमाडौंको सिमानासँग जोडिएको हुमाने भञ्ज्याङसम्मको सडक निर्माणका क्रममा सडकको चौडाइ आठ मिटरबाट १० मिटरसम्म सडकलाई निर्माण गर्नेतर्फ बजेट विनियोजित गर्ने लक्ष्य राखिएको र मन्त्रालयका तर्फबाट पनि उक्त सडकका लागि बजेट थप विनियोजित गर्नेतर्फ छलफल गरिनुपर्ने माग गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख, इञ्जिनीयर, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामा, विभिन्न वडाध्यक्ष र भीमफेदी–कुलेखानी सरोकार समितिका पदाधिकारी गरी करिब ३४ जना प्रतिनिधिको सहभागिता रहेको सो मन्त्रलयका प्रशासकीय अधिकृत अशोक ढकालले बताए ।

प्रतिक्रिया