दाहाल स्मृति ग्रन्थ सार्वजनिक

संखुवासभा । जलविद्युत् अभियानकर्मी तथा संखुवासभाका पूर्वसांसद हरि वैरागी दाहालका स्मृतिमा ‘अथक योद्धा हरि वैरागी दाहाल स्मृति ग्रन्थ’ सार्वजनिक गरिएको छ । पञ्चायतकालमै बामपन्थी राजनीति सुरु गरेका दाहाल २०५१ सालमा तत्कालीन नेकपा (एमाले) का तर्फबाट संखुवासभा–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ग्रन्थको नेकपाका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम र राजेन्द्र कार्की, जिल्ला अध्यक्ष हेमराज घिमिरे लगायतले सार्वजनिक गरे । सो अवसरमा संघीय सांसद गौतमले दाहालले समाज परिवर्तन र विकासका लागि पु¥याएको योगदान भुल्न नहुने जिकिर गरे । नेता कार्कीले निजी क्षेत्रको लगानीमा जलविद्युत् परियोजना बनाएर उनले सर्वसाधारणका घरमा उज्यालो पु¥याउने काम गरेको सुनाए ।

२०१४ साल २८ कात्तिकमा संखुवासभाको मादीमा जन्मिएका दाहालको २०७६ साल ३ असोजमा हृदयाघातबाट मृत्यु भएको थियो । नेता दाहालको अगुवाइमा दुई दर्जनभन्दा बढी जलविद्युत् कम्पनी स्थापना भएका थिए । दाहाल राजनीतिक परिवर्तनसँगै २०४६ सालदेखि जलविद्युत् अभियानमा लागेका थिए । उनले २०५३ सालमा संखुवासभाको पिलुवाखोलाबाट तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजना निर्माण गरेका थिए । उनले निजी क्षेत्रबाट जलविद्युत् आयोजना सुरुआत गरेर गाउँगाउँमा खेर गएको खोलाको पानीबाट बिजुली उत्पादन गर्ने लहर चलाएका थिए ।

प्रतिक्रिया