बेलायतमा फाइजरले पायो अनुमति

काठमाडौं । विश्वभर आतंक फैलाएर लाखौं मानिसको ज्यान लिएको कोरोना भाइरस (कोभिड–१९)को पहिलो भ्याक्सिन (खोप) आम सर्वसाधारणलाई आपतकालिन प्रयोग गरिने भएको छ । बेलायतले इजर/बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोगको अनुमति दिएको हो । खोपलाई बृहत रुपमा प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ ।

यो खोप परीक्षणका क्रममा संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी पाइएको थियो । प्रसिद्ध एव औषधि निर्माणका लागि अमेरिकाको प्रमुख संस्था मध्येको एक फाइजर र जर्मनी कम्पनी बायोएनटेक मिलेर यो खोपको विकास गरेका थिए । कम्पनीकाअनुसार यो खोप जुनसुकै उमेर समुह र जातिका व्यक्तिलाई हुने दावी गरेको छ । बेलायतको नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको खोप अर्को सातादेखी लगाउन शुरु हुने जानकारी दिएको छ ।

खोप जोखिममा रहेका मानिसहरुबाट लगाउन शुरु गरिने अपेक्षा गरिएको छ । बेलायती संचारमाध्यमका अनुसार खोप लगाउन शुरु गरेको केही घण्टामै यसलाई आमसर्वसाधारणका लागि पनि उपलब्ध गराइनेछ । बेलायतले हालसम्म ४ करोड खोप किन्नलाई सम्झौता गरेको छ । एक व्यक्तिलाई दुई खोप आवश्यक पर्ने भएकाले शुरुमा दुई करोडले मात्र खोप लगाउन पाउनेछन् ।

चार करोडमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । खोपको विकास गर्न एक दशक भन्दा लामो समय लागेको इतिहास भएका बेला यो खोपले भने १० महिनामै अनुमति पाएको छ । तर, फाइजरको खोप भण्डारण र ओसारपसारमा भने चुनौती रहेको स्वास्थ्यविद्हरुको धारणा छ । यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएको छ ।

बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज पनि यसअघि नै ‘अर्डर’ गरिसकेको छ । कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ । बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।

बेलायतले अनुमति दिए लगत्तै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको बताएका हुन् ।

पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक–५ दिइएको छ ।

फाइजर खोपले के गर्छ ?
यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि संलग्न छ ।

पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि–सेल भनिने शरिरको रोग प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ । र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ ।

प्रतिक्रिया