ओलीलाई नेता नेपालको सन्देश : महाधिवेशन हुदैन, एक पद छाड्नुहोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद नसुल्झिएपछि महाधिवेशनबाट छिनोफानो गर्ने कि नगर्ने अर्को विवाद उठ्न थालेको छ । केन्द्रीय कमिटीले चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेपनि त्यो हुने नहुनेमा नेताहरु बीच विवाद देखिएको हो ।  प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली सबै विवाद महाधिवेशनबाटै टुंगो लगाउने प्रस्ताव गरिरहेका छन् । तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनको बारेमा यसअघि केही बताएका थिएनन् । बुधबारको सचिवालय बैठकपछि जुममार्फत एक संस्थाले गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले महाधिवेशन गर्ने आधारै नभएकाले एक पदबाट ओलीले राजिनामा दिनुपर्ने बताएका छन् । उनले महाधिवेशनलाई औपचारिकता पुरा गर्ने थलोका रुपमा मात्रै चित्रण गरेका छन् ।

नेता नेपालले अहिलेको विवाद सचिवालय, स्थायी कमिटीमा टुंगो लगाउनुपर्ने बताए । यी दुई ठाउँमा पनि टुंगोमा नलागे केन्द्रीय कमिटीले जसरी पनि लगाउनै पर्ने बताए । प्रधानमन्त्री ओलीले महाधिवेशनको कुरा उठाएको प्रसंग राख्दै नेता नेपालले भने, ‘अहिले के भनिरहेका छन् भने महाधिवेशनमा जाऔं, महाधिवेशनमा जाऔं । जुन महाधिवेशन अहिले हुनका लागि आधारै छैन । सदस्यताका चर्का विवादहरु छन् । यी विवादहरु अझै कति बढ्दै जाने हुन् । एकीकरणको कामै भएको छैन ।’

उनले महाधिवेशन भनेको जहिले पनि औपचारिकता पुरा गर्ने ठाउँ मात्र भएको स्पष्ट पारे । ‘जब अन्तिममा एकदम छिनोफानो गर्नुपर्यो भने त्यो छिनोफानो पोजेटिभ भयो भने राम्रो दिशामा जान्छ । नभए त्यसले सुखद परिणाम ल्याउदैन’, महाधिवेशनलाई लक्षित गर्दै नेपालको भनाई थियो । उनले एक व्यक्ति एक प्रमुख पद विधानमै व्यवस्था भएकाले त्यो लागु गर्नुपर्ने बताए । ‘एक व्यक्ति एक प्रमुख पद, गौण पदमा हुनसक्दछ । यही मान्यताका आधारमा अहिले विधानमै हाम्रो व्यवस्था छ । त्यो व्यवस्था लागु गर्नुपर्दछ ।’

उनले पार्टीमा राजिनामा मागे दिईहाल्नु पर्ने ज्ञान पनि ओलीलाई दिएका छन् । संविधान सभाको पहिलो निर्वाचनपछिको प्रसंग निकाल्दै नेता नेपालले भने, ‘पार्टीमा दिग्गज दिग्गज भनिएका सबैले हारेका होइनन्, उनिहरुले हारेको म किन जिम्मा लिन्थे ? किन छोड्थे म ? तर, छोडदिए मैले ।’ उनले सबै पद ओगट्ने विषयले नै पार्टीभित्र समस्या ल्याएको बताए । ‘पद भनेपछि के सबै पद ओगट्ने ? प्रमुख पद पनि आफै लिने ? पार्टीको पनि जिम्मा लिने, प्रदेशको पनि जिम्मा लिने ? एउटै व्यक्तिले दुई वटा जिम्मा लिन पाइन्छ’, नेता नेपालले प्रश्न गर्दै भने, ‘चेक एण्ड ब्यालेन्सको कुरा उठाउदा त्यो गलत हुन्छ । सिस्टमले पनि दिदैन, चेक एण्ड ब्यालेन्सको स्टिम हुनुपर्दछ । सरकारको मन्त्री हो भने त्यसलाई विभागको प्रमुख बनाउनु हुदैन ।’

नेता नेपालले नेकपाको एकीकरण नै न्युनतम आधारमा टेकेर नगरेको पनि खुलाए । ‘एकीकरण गर्नका लागि गर्नुपर्ने जुन न्युनतम आधार हो त्यो आधारमा टेक्ने काम भएको छैन । आफ्नो नजिक भएका मान्छेलाई ल्याउने तर आधारमा टेकेर गर्ने मुल्यांकनमा नजाने’, उनको भनाई छ । नेता नेपालले पुस्ता हस्तान्तरणको लागि आफु तयार भएको समेत बताए ।
‘कोही पनि मान्छे यहाँ आजिवन हुने कुरा त छदै छैन । आजिवन हुदैन । नयाँ पुस्ता नै आउनुपर्छ । कति वर्षको नयाँ पुस्ता हुन्छ ? यसो तय गर्दिम्, ६० वर्ष वा ७० वर्ष वा ७५ वर्ष नाघेका सबैलाई विदा गरौं’, नेता नेपालले भने, ‘सबैभन्दा पहिला त जो पदमा बसेको छ, त्यसले गर्नुपरो नि । आज छोड्ने ? आज होइन्, आफ्नो भएभरीको अवधि पुरै बस्ने त्यसपछि बल्ल अरुलाई दिने ? यो त्यागको होइन कुरा । यो के हो, टाढ ढुटको कुरा मात्रै हो ।’

उनले नया पुस्ता भनेको उमेरले मात्रै नहुने पनि स्पष्ट पार्न खोजेका थिए । नेता नेपालले भने,‘नयाँ भनेको उमेर होइन्, उर्जा, दृष्टिकोण, कार्यक्षमताले हो । पदमा बसेको छ काम केही पनि गर्न सकेको छैन । त्यसले र त्यस्तो मान्छेबाट केही पनि हुदैन । पदमा बसेपछि पदिय जिम्मेवारी पुरा गर्न सक्ने हुनुपर्छ ।’ नेकपाको बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि अर्को बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया