रावा बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य (राव) बैंक र चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । पूर्वऊर्जामन्त्री तथा सांसद जनार्दन शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

नगरपालिकाको सिफारिसमा बैंकको नियम अनुसार प्रत्येक समूहलाई अधिकतम १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा सांसद शर्माले मुलुकभित्र स्रोत र साधन भए पनि पर्याप्त परिचालनको अभावले गरीबीमा जकडिएको बताए । उनले विदेशीका धेरै विकासको मोडल देखेको बताउँदै तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलका रूपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने धारणा राखे ।

बैंकका सिइओ श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीको आधारमा गरिने लघुवित्त कर्जा मोडलजस्तै सहुलियतपूर्ण कर्जा नेपालको नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले बैंकले विभिन्न शीर्षकमा १ हजार ६ सय ६० जनालाई एक अर्ब २८ करोड रुपैयाँभन्दा बढी बिना धितो सहुलियतपूर्ण कर्जा दिइसकेको बताए । मेयर शर्माले नगरवासीको गरिबी न्यूनीकरणका लागि सहुलियतपूर्ण कर्जा फलदायी बन्ने विश्वास लिए । कार्यक्रममा सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल लगायतको उपस्थिति रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया