बायर्न हारबाट जोगियो

पेरिस । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा थोमस मुलरले पेनाल्टीमार्फ गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको छ । बायर्न र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेको हो । यो बराबरीले बायर्न च्याम्पियन्स लिगमा १६औं खेलसम्म अपराजित रहन सफल भएको छ । वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलको छैटौ मिनेटमा जोआओ फेलिक्सको पासमा एन्जल कोरेयाको प्रहार गोलरक्षक नुवेलको हातमा पुगेको थियो । १०औं मिनेटमा कोकीको प्रहारलाई डेभिड अलवाले क्लियर गरिदिए । १४औं मिनेटमा मुसिएलाको पासमा चुपो मोटिङको प्रहार आकासिदा बायर्नले अग्रता लिन सकेन ।

२६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले मार्काेस लोरेन्टेको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा कोकीको पासमा फेलिक्सको प्रहार गोलरक्षक नुवेलको हातमा पुग्यो । ३७औं मिनेटमा यान्निक कारास्कोको पासमा लोरेन्टेको प्रहार आकासिदा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो । ५८औं मिनेटमा फेलिक्सको प्रहार क्रस बारमा लाग्दै बाहिरियो । ८६औं मिनेटमा सब्सिच्युट मुलरले पेनाल्टीम गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । फिलिपेले मुलरलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।

८९औं मिनेटमा लेमारको प्रहार बाहिरिदा एट्लेटिको जितबाट वञ्चित बन्यो । यो बराबरीले एट्लेटिकोको नकआउट चरण पुग्ने सम्भावना जीवितै रहेको छ । बायर्नले यसअघि नै समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।
शीर्षस्थानको बायर्नको ५ खेलबाट १३ अंक रहेको छ । एट्लेटिकोको ६ तथा तेस्रो स्थानको साल्जवर्गको ४ अंक छ । लोकोमोटिभ मस्कोको ३ अंक छ । यही समूहको अर्काे खेलमा साल्जवर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले पराजित गर्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवितै राखेको हो । समूह चरणको अन्तिम खेलमा अर्काे साता बायर्न र लोकोमोटिभ तथा साल्जवर्ग र एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुदैछ । साल्जवर्ग र एट्लेटिको म्याड्रिडलाई नकआउट चरण प्रवेश गर्न यो खेल निकै महत्वपुर्ण छ । एट्लेटिको म्याड्रिडलाई बराबरी नै नकआउट चरण प्रवश गर्न पर्याप्त रहँदा साल्जवर्गलाई निश्चित जितको खाँचो छ ।

प्रतिक्रिया