कवितामा लैंगिक हिंसा

सप्तरी । लैंगिक हिंसाका विरुद्धमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसर पारेर सोमबार राजविराजमा गोष्ठी गरिएको हो । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय भएका छन् ।

रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शीर्षकमा कविता सुनाएका थिए । कार्यक्रमका मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास र मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाले प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा संयोजक पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताए । उनले हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको विचार व्यक्त गरे । उनले भने, ‘लैंगिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुन्छ ।’

कार्यक्रममा पोखरेल, करुणा झा, कार्यक्रम संयोजक प्रतिमा देव, गायिका कञ्चन झा, नारायण देवले समेत लैंगिक हिंसाविरुद्ध अप्रतियोगी कविता तथा गीत वाचन गरेका थिए । राष्ट्रिय गीत र गोसाउनी गीतबाट सुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गरिन् । उनले कार्यपत्रमा हिंसालाई सामान्यरूपमा लिने सोच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढ्दै गएको जिकिर गरिन् । उनले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोच परिवर्तन गर्न जरुरी रहेको बताइन् ।

प्रतिक्रिया