म्याराडोनालाई सम्मान दिदा मेसीलाई कारबाही !

स्पेन । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय पाउन्ड (नेपाली ४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको हो ।

मेस्सीले ओसासुनाविरुद्ध पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाले नेवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिँदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए । यस्तै मेस्सीले दुवै हात आकाशतिर फर्काउँदै माथि हेरेका थिए । खेलमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको थियो ।

तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो परेको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने’ नियम स्पेनमा रहेको छ ।

मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए । आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए । खेलपछि मेस्सीले सामाजिक सन्जालमा आफ्नो र म्यारोडोनाको पुरानो फोटो राख्दै ‘फेरवेल, डिएगो’ लेखेका छन् । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीको यो शैलीलाई ग्रेट मोमेन्ट भनेका छन् ।

मेस्सी क्याटलान क्लब बार्सिलोना आउनुअघि न्युवेल्सबाट युथ करियर सुरुवात गरेका थिए । म्यारोडोनाले भने न्युवेल्सबाट अन्तिम ५ खेल खेल्दै खेल करियरबाट सन्यास लिएका थिए । म्यारोडोनाको गत बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण ब्युनर्स आयर्समा निधन भएको थियो । यस्तै इटालियन क्लब नेपोलीले पनि आफ्नो लेजेन्ड म्यारोडोनाको सम्झनामा विशेष चौथो जर्सीमा ‘म्यारोडोना १०’ अंकित जर्सी पहिरिएर समर्पण गरेका थिए । खेलमा नेपोलीले रोमालाई ४–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया