जहाँ सयौँ मानिसलाई मारेर कुवामा फालियो

बझाङको छान्ना क्षेत्र उब्जनीका दृष्टिकोणले हाल पनि राम्रो भू–भाग मानिन्छ । खप्तडबाट आउने त्यहाँका अपार जलस्रोतले वर्षभरि नै सिँचाइका सुविधा प्राप्त छ । आसपासका डाडाँकाँडाले पशु चरनको लागि प्रर्याप्त घाँस पाइन्छ । अझ केही घण्टामा खप्तड आवतजावत गर्न सकिने सुविधा, वा पैदावार र जडीबुटी आदिले यो ठाउँ राजनीतिक रूपमा परापूर्वकालदेखि आकर्षणको केन्द्र हुने भइहाल्यो । सिंजा साम्राज्यको अवधिमा यस क्षेत्र भएर तत्कालीन शासकहरू पश्चिमी भू–भाग र कुमाउतर्फ आवतजावत गर्दथे । हाल पनि यो बाटो भएर जुम्ला, हुम्ला र बाजुरा जान सकिन्छ । यस्तै खप्तड जानका लागि मोटर चढेर जाने बाटो प्रवेशद्वार मतुवा गाउँसम्म पुगेको छ । यो नै खप्तडजाने सबैभन्दा छोटो र भौतिक पूर्वाधारसमेत बाटो पनि हो ।

रणनीतिक र सामरिक दृष्टिकोणले महत्वपूर्ण र आर्थिक हिसाबले समेत उपयुक्त यो भूभाग आफ्नो नियन्त्रणमा लिन तत्कालीन शासकहरू प्रयासरत रहन्थे । आफ्नो उत्कर्ष कालमा हुँदा जुम्लाबाट यस ठाउँका लागि प्रतिनिधि खटिन्थ्यो । तत्कालीन जुम्लाका राजाले खापर देवतासँग पासा खेल्ने गरेको ठूलो शिला (ढुंगा), खापर देवताका माँडु अगाडि रहेको छ । भनिन्छ, खापर देवता हार्न लाग्दा मुसाले पासाको दाउ परिवर्तन गरेको थियो रे !


जुम्ला राज्यको प्रतिनिधिलाई बयानी थापाको बसोवासपछि त्यहाँबाट धपाइयो । बयानी थापाहरूको बाहुल्य रहेको माथिल्लो क्षेत्रमा उनीहरूको दबदबा थियो । जसले उनीहरूलाई आफ्नो हातमा लिन सक्यो, त्यही शासक यहाँको राजा मानिन्थ्यो । यी थापाहरूले खापर देवताको डोला खप्तडबाट अछाम जाने परम्परा रहेकोमा खोसेर छान्ना क्षेत्रको पाटा देवलमा ल्याएर स्थापना गरे । खापर देवतालाई बस्ने ठाउँ र खप्तडबाट हिँडने बाटो निर्धारण गरिदिएका थिए ।

यसै तत्कालीन छान्ना दरा र हाल खप्तड छान्ना गाउँपालिकामा सिंह ठकुरीहरूको बाहुल्य रहेको मोतुवागाउँ पर्दछ । यहाँ सयौं ठकुरी परिवार बसोवास गर्दै आएका छन् । यो गाउँ विश्व प्रसिद्ध पर्यटकीय स्थल खप्तडसँग जोडिएको छ । यस गाउँको छेउमा खप्तड निकुञ्जसँग जोडिएर रहेको एक रमणीय वन पनि छ । यसको ऐतिहासिक महत्व रहेका कारण यस गाउँका मानिसहरूले आफ्नो पैतृक सम्पत्तिको रूपमा जोगाएर राखेका छन् । यहाँका कुनै रुख पनि काटिँदैन, पतझड र सुकेका दाउरा मिलिजुली र सहमतिमा मात्र उठाइन्छन् । गाउँबाट हेर्दा अत्यन्त घना रहेको त्यहाँ कुनै बाहिरिया मानिसलाई प्रवेश गर्न दिइँदैन । त्यसलाई आफ्नो पुर्खा जोगाएर संरक्षित क्षेत्रजस्तो बनाएका छन् । यस पंक्तिकारले त्यस गाउँमा जाने र टाढाबाट जंगलको बारेको जानकारी लिने अवसर पाएको थिएँ ।

यो भू–भाग चौबिसे राज्य थलाराअन्तर्गत हुँदाको अवस्थामा बझाङी राजाका भाइहरू मतुवा गाउँमा बस्न गए । त्यहाँको बारामा बझाङ कोटबाट उडेर आएको कालो ढुंगाको पूजा हुने गरेको छ र उक्त स्थानमा प्रत्येक चैते दसैँ र असोजको दसैँमा राँगा बलिसहित पूजा हुने गर्दछ । त्यहाँ जुठो सुतक परेका बेला समेत पूजा रोक्न पाइँदैन । त्यस क्षेत्रका कुनै अर्का थरकी एक महिलाका सम्बन्धमा सम्बन्धित जातिका मानिस र थलारी राजाका भैयाद (भाइका) बीचमा झगडा भयो । ती स्थानीय मानिसको पक्ष लिएर मतुवाका सिंह र थलारी राजाका भाइका बीचमा द्वन्द्व चर्कियो । त्यही द्वन्द्वमा मतुवाका सिंहहरूले राजाको उक्त भाइलाई काटिदिए ।

एक त राजनीतिक कारण छँदै थियो । त्यसमाथि आफ्नै राज्यमा राजाको भाइ काटिनु राजाको लागि सह्यै हुने कुरै भएन । आफ्नै राज्यमा भाइ काटिएपछि त्यसको बदला लिन थलारी राजाले कटक (मान्छे काटन् प्रतिनिधि) पठाए । त्यसबेला राजाले कटकसहित धाडो गर्न पठाउँथे । धाडो भनेर गाउँघरको सबै घरमा रहेका धन सम्पत्ति गाई, गोरु, जातो, ओखल, कुचोसमेत उठाएर लगिन्थ्यो ।


त्यसबेला राज्यबाट मानिसको ज्यानसम्बन्धी विभिन्न किसिमबाट सजाय दिइन्थ्यो । पहिलो मुड लगाउनुहुन्थ्यो । यसअन्तर्गत कसैले आफ्नो मान्छे बदलामा त्यो मान्छेलाई काट्न पाउथ्यो । काट्न पाएन भने पानी चल्दैनथ्यो । काटी सकेपछि अझ काट्ने मान्छेले राज्यलाई कर बुझाउनु पर्दथ्यो, जसलाई मुडाली कर भनिन्थ्यो । यस्तै काटिनेका सन्तानले काटनेको हातबाट पानी खाँदैनथे । यस्तै भेटे जति काटेर आउने राज्यले कटकको आदेश दिन सक्थ्यो । अर्को राजाको आदेशमा धाड पठाइन्थ्यो । यसमा मान्छेहरू कुनै बाँकी नराखेर काटेर सबै सम्पत्ति सोहोरेर ल्याइन्थ्यो । फेला परेका मान्छेहरू मारी भेट्टाए जति सम्पत्ति बोकाएर लैजान्थे ।

सुन्नमा आए अनुसार धाडो गर्न कटक आउँदा सिंहका पुर्खा घरमै थिए । आउने कटकका सेनाले घर घेरे । घर घेर्दा मुख्य मानिसको घरमा घेरा हाले । आफ्नो घर घेरेको थाहा पाएर ती मानिसले उपाय निकाले, आफूसँग रहेका चाँदीका रुर्पयाँ आँगनमा छरिदिए । चाँदीको रुपैयाँ छरेको देखेर धाडमा आएका कटकको ध्यान त्यसतर्फ गयो र तिनीहरू छरिएको रुपियाँ टिप्न हारालुछ गर्न थाले । घेरा हाल्ने मानिसका ध्यान त्यतैतर्फ गयो । त्यही मौकामा घरका सबै पुरुष जति पछाडिबाट भागाभाग गरी नजिकको जंगलमा लुक्न गए ।

हुलमुल गरेर सक्दो रुपैयाँ हात पारेपछि गाउँका मानिसहरूको खोजी भयो । सबै मान्छे भागिसकेका थिए, भेटिएनन् । सम्पत्ति त लुटे तर पुरुष कोही हात नपरेको झोकमा एक सयभन्दा बढी वृद्ध, महिला र केटाकेटीलाई जम्मा गरी बाराको नजिक लगे र सबैलाई काट्दै नजिकैको कुवामा हाल्दै गरे । त्यहाँ कोही पनि जीवित रहेन । धाडका नियमअनुसार सम्पत्ति लुटे पनि आइमाई केटाकेटी र वृद्धहरूलाई केही गर्न पाइदैनथ्यो । यहाँ तिनीहरूले त्यो नियम उलंंघन गरे । गाउँमा भएको सम्पत्ति पनि केही बाँकी राखेनन् ।

जंगलमा लुकेर बसेका पुरुषहरू कहिलेकाहिँ मौका छोपेर राती आउथे । ती फर्केर आए कि भनेर थलारी राजाको सेना पटकपटक आउँदै बाँकीरहेको वा देखेको सम्पत्ति लिएर जाँदै गर्न थाले । बाराको कालो ढुंगोमा पूजा रोकिने भएकोले पाटा देवलका खप्तरी खडकाहरूले १२ वर्षसम्म पूजालाई निरन्तरता दिए । हाल पनि जुठो सुतक परेर रोकिने भएमा त्यहाँ तिनै खडकाहरूले पूजा सम्पन्न गर्दै आएका छन् ।

जंगलमा लुकेका मानिसहरूलाई पाटादेवल खप्तरी खडकाका छोरी बहिनीहरूले गोप्य रूपमा खाने कुरा पु¥याउने गर्दथे । तिनीहरूलाई आफ्नै छोरी बहिनी मानेर मातुवाका सिंहहरूले पछि अन्नि फाँको भनेर धानखाने खेत दिए । मतुवाका मानिसहरूले देवतालाई गुहार्दा खापरका मुख्य सहयोगी देवतामध्ये एक दुदिरले भने, ‘तिमीहरू जाउ आफ्नो सामान लिएर आउ अब केही हुँदैन, म छँदै छु ।’ यसमा मतुवाका मानिसहरूलाई विश्वास भएन । तिनीहरूलाई विश्वास दिलाउनका लागि दुदिर देवताले बाँझको काठको कुहिएको मुडामा दाना फाले र तत्काल जमरा उम्रियो । यो देखेपछि उनीहरूलाई विश्वास भएर सबै आफ्नो सामान फिर्ता माग्न गए ।

तिनीहरू नजिक पुगेको बेला थलारा राजाको दरबार नजिकै हरियो घाँसको मेला (वन) मा आगलागी भयो । त्यस्तो अचम्मको घटना देख्दा सबै त्यो निभाउन गए । त्यही बेला यतातिरबाट गएका मानिसहरूले आफनो सामान फिर्ता लिएर आए । त्यस बेलाको धाडमा परेको र फिर्ता आएको जाँतो घरको आँगनमा अहिले पनि देख्न सकिन्छ । काटिएका ती सबै मृत व्यक्तिहरूले तर्साएर दुःख दिन थालेकाले स्थानीय युवाहरूको पहलमा हाल उक्त कुवा भएको ठाउँमा कालिकाको मन्दिर बनाई पूजाआजा हुने गरेको छ । त्यस कुवाको पानी तल घरहरूमा देखिने गरेको छ ।
(मतुवा निवासी हिरेन्द्रबहादुर सिंहको सहयोगमा)

प्रतिक्रिया