नयाँ आइजिपी बन्ने दौड बन्द !

काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिससँगै उनी बढुवा भए नयाँ आइजिपीका लागि उनी एक्लो दाबेदार बन्नेछन् ।  सोमबार साँझ गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आइजिपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आइजिपी) बन्नका लागि उनी एक्लो दाबेदार हुनेछन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ ।

पोखरेललाई एआइजीमा बढुवा गरेर भावी आइजिपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता एआइजीको दरबन्दी थपेको थियो । एआइजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनसमेत खस्काउने भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट रहेको स्रोतको दाबी छ । पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धीरजप्रताप सिंहलगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । तर, सरकारले पोखरेलको एकल बढुवा गरेसँगै अन्यको सम्भावना टरेको छ ।

यसअघि पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पनि एक्लै बढुवा भएका थिए । त्यसवेला पनि कनिष्ठ अधिकृतलाई डिआइजी बनाइएको भन्दै आलोचना भएको थियो । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएपछि उनलाई १९ वैशाख २०७६ मा एसएसपीबाट डिआइजीमा बढुवा गरिएको थियो । पोखरेल प्रहरी निरीक्षक, डिएसपी र एसपी हुँदा वरीयतामा अगाडि थिएनन् तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौँ वरीयताबाट सिधै एक नम्बरमा पारिएको थियो ।

यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूतावासमा सरुवा हुँदा पोखरेलले जान नमानेर कमान्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरू बताउँछन् । हाल उनी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए ।

प्रतिक्रिया