पारस आईसीसी एसोसियट अवार्डमा मनोनित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् । सन् २०१० बाट सन् २०२० सम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीको एसोसियटतर्फ पूर्व कप्तान पारस अटाउन सफल भएका हुन् । पारसको नेतृत्वमा नेपालले डिभिजन ५ देखि टी–ट्वान्टी विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यताको यात्रा गरेको छ । जसको कारण यो दशकलाई नेपालको गोल्डेन एराको रुपमा समेत हेर्न सकिन्छ ।

यस दशकमा पारसले एकदिवसीय तथा टी–ट्वान्टी दुवै अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्न सफल भए । पारससँगै दशककै उत्कृष्ट खेलाडी अवार्डका लागि एसोसियटतर्फ ६ खेलाडी मनोनयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् ।

यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् । समर्थकको भोटका आधारमा गरिने यो सम्मानका लागि नेपालका पारस प्रमुख दाबेदार हुन् । आईसीसीले भोटिङ सुरु गरे लगत्तै आईसीसीको सो सर्भर समेत केहि समय डाउन भएको थियो । आईसीसीले अवार्डको मिति तथा भोटिङ अवधि भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया