‘सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार सुनियोजित र अत्यन्तै निन्दनीय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया