किम्फमा ३२ चलचित्र छनोट

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा ३२ वटा चलचित्र छनोट भएका छन् । पर्वतीय जनजीवन, संस्कृति, वातावरण र खेलमाथि बनेका विश्वभरिका चलचित्र समेटेर आयोजना हुँदै आएको यो महोत्सव पहिलो पटक भर्चुअल माध्यमबाट गर्न लागिएको हो । २५ मंसिरदेखि सुरु हुने पाँच दिने महोत्सवमा सबै चलचित्र अनलाइनमार्फत हेर्न सकिने आयोजकले जनाएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय पानोरमातर्फ १५ देशका १८ चलचित्र छनोटमा परेका छन् । आयोजक हिमाल एसोसियसनका अनुसार नेपाली पानोरमाका लागि १४ चलचित्र छानिएका छन् । जसमा सजल लोप्चानको अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल (२१ मि.), डायमण्ड उप्रेतीको अ पेपर प्लेन (१४ मि.), राजन कठेतको बार ट्रिज इन दि मिस्ट (१५ मि.), गणेश पाण्डेयको सिभिल सोल्जर्स (२५ मि.), सोनाम शर्माको मिसन एभरेस्ट–दि लिजेन्ड अफ शेर्पा जाङ्बु (३१ मि.), आशुका अर्यालको संकुल (दि कन्फ्युजन १३ मि.), सोनाम चौकी लामाको दि स्नो लियोपार्ड कलिङ (९ मि.), गणेश रावलको समस्या (२२ मि.), अंकित पौडेलको सङ अफ क्लाउड्स (१५ मि.), आशिष लिम्बू र डेविन राईको दि विन्टर ट्याप (११ मि.) र सिकुमा राईको अरक चाना बानाओ सिम्मा (२६ मि.) प्रतियोगी चलचित्रको रुपमा प्रदर्शन हुने जनाइएको छ । त्यस्तै, टोनी हागन फाउन्डेसनको सहयोगमा बनेका तीन वटा चलचित्र अप्रतियोगीका रुपमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

कोरोना महामारीका कारण किम्फको १८औं संस्करण भर्चुअल माध्यमबाट गर्न लागिएको जनाउँदै किम्फका अध्यक्ष वसन्त थापाले भने, ‘कोरोनाका कारण पहिलो पटक महोत्सव अनलाइनबाट गर्दैछौं । तर यसको सकारात्मक पक्षमा पनि छ ।’ उनले भर्चुअल माध्यमबाट महोत्सव गरिने भएकाले विगतको तुलनामा दर्शक बढ्ने अपेक्षा राखेको जिकिर गरे । आयोजकका अनुसार महोत्सवको उद्घाटन र समापन भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमित दर्शकको भौतिक उपस्थितिमा गर्न गरिने भएको छ । महोत्सवमा देखाइने चलचित्र एक हप्तासम्म अनलाइनमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया