सन्ध्याको कविगोष्ठी

काठमाडौं । कोरोना कहरका कारण साहित्य सन्ध्याको नियमित कार्यक्रम भर्चुअल माध्यमबाट गरिएको छ । शनिबार ४१०औँ शृंखलामा ‘प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठी’ गरिएको हो । कार्यक्रममा प्रगतिवादी साहित्यकार डा.अमर गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सन्ध्याका सल्लाहकार एवं प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी विशिष्ट अतिथि रहेका थिए । त्यस्तै, धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, प्राज्ञ हरि तिमिल्सिना नेपालगञ्ज, साहित्यकार प्रा.डा.खेम दाहाल, सीताराम नेपाल, सन्ध्याका सल्लाहकार विधान आचार्य अतिथिका रूपमा उपस्थित थिए ।

गोष्ठीमा पुष्पमणि प्रधान, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल, लेकप्रसाद प्याकुरेल, कृष्ण सुवेदी, गोमा कटुवाल, ज्ञानु विद्रोही, प्रा.डा.खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल, प्रा.डा.जीवेन्द्रदेव गिरी, विधान आचार्य लगायतले समसामयिक कविता, गीत, गजल वाचन गरे ।

कार्यक्रममा प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्य सन्ध्याले चार दशकदेखि नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको नेतृत्व गरिरहेको जनाए । उनले सन्ध्याका अध्यक्ष राम विनय कोरोना महामारीको संक्रमणमा परेको जानकारी दिँदै आपूm स्वयं अस्पतालको शैयामा रहेकै अवस्थामा लेखेको ‘राम विनय सतिसाल हो, ढल्दैन’ भन्ने कविता लेखेको बताउँदै सो कविता वाचनसमेत गरे ।

सो कार्यक्रममा वाचित सिर्जनामाथि टिप्पणी गदैै डा.अमर गिरीले साहित्य सन्ध्याले कोरोना महामारीका बीचमा समेत आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको बताए । उनले भने, ‘साहित्य सन्ध्याले नेपाली प्रगतिशील साहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो अभियानलाई यहाँसम्म ल्याउन धेरै स्रष्टाले विशेष योगदान दिएका छन् । त्यसमा पनि अभियानका अभियन्ता राम विनयको अविश्रान्त सक्रियता प्रशंसनीय रहेको छ ।’

उनले गोष्ठीमा संस्कृतका विख्यात साहित्यकार कालिदासको मेघदूतको अनुवादसमेत सुन्दर ढंगले प्रस्तुत भएको सुनाए । अन्य कविता पनि विषयको विविधताले युक्त भएको जनाउँदै उनले मुलुकमा देखापरेका समकालीन समस्याहरू बाह्य हस्तक्षेप, विसंगत परिवेश, साम्राज्यवादी प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएको टिप्पणी गरे ।

डा. गिरीले भने, ‘नेपाली जनताका अनेक संघर्षका माध्यमबाट स्थापित लोकतन्त्रले परिवर्तनको अनुभूति गराउनसकेको छैन भन्ने यथार्थलाई पनि कविताले गम्भीरताका साथ उजागर गरेका छन् । राजनीतिक विकृति र विसंगतिलाई लिएर कविता आएका छन् । सत्तारुढ पार्टीभित्र र अन्य पार्टीमै पनि देखिएका अन्तरविरोधले सिंगो नेपाली समाज प्रभावित हुने चिन्ता कवितामा अभिव्यक्त भएको पाइन्छ ।’

उनले कविले कवितामा पार्टीमा हुर्किएको आन्तरिक द्वन्द्वका प्रतिको सरोकार पनि उजागर भएर साहित्य सिर्जना राजनीति निरपेक्ष हुँदैन भन्ने पुष्टि गरेको विचार व्यक्त गरे । उनले कवितामा नेपाली राजनीतिमा आदर्श र मानवीय मूल्य स्खलन भइरहेको अवस्थाका प्रति गम्भीर चिन्ता प्रकट गरिएको धारणा राख्दै भने, ‘सामाजिक रूपान्तरणका लागि यो अत्यन्त बाधक पक्ष हो भन्ने देखाउन खोजिएको छ । कार्यक्रममा वाचित कविता सुन्दर समाज निर्माणका आकांक्षी सत्यम्, शिवम् सुन्दरम्का आकांक्षी रहेका छन् ।’

उनले सुन्दर सिर्जनाले सामाजिक रूपान्तरणमा सहयोग पु¥याउने जनाउँदै नेपाली समाजको समग्र रूपान्तरण गर्न स्रष्टाको विशेष र महत्वपूर्ण योगदान हुने भनाई व्यक्त गरे । उनले थपे, ‘गलतलाई डटेर गलत नै र सहीलाई सही भन्नसक्नु स्रष्टाको दायित्व हो । यसलाई पाश्चात्य विद्वान ग्राम्सीले स्रष्टाको अग्र्यानिक चेतना भनेका छन् र यो कुरा हामी स्रष्टाको हकमा पनि लागू हुन्छ ।’

भर्चुअल कार्यक्रममा सन्ध्याका अध्यक्ष राम विनयले समाज रुपान्तरणमा स्रष्टाको इमान्दारिताको अपेक्षित रहेको बताए । उनले प्रविधिमैत्री कविगोष्ठीमा पूर्वको इलामदेखि, धरान, दाङ, नेपालगञ्ज लगायतका जिल्लाका स्रष्टाले उत्साहपूर्ण सहभागिता रहेको जानकारी दिए । कवि एवं साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यले समाजलाई अग्रगतिमा रुपान्तरणसहित अगाडि बढाउन स्रष्टाले सचेत ढंगले काम गर्नुपर्ने विचार व्यक्त गरे । त्यस्तै, सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले स्रष्टाले विकृति विसंगतिविरुद्ध निरन्तर आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया