आज रमा एकादशी : किन मनाउने एकादशी ?

रमा पौडेल

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दशै इन्द्रीय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौँ । एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ । पद्मपुराणमा एकादशीको व्रतको महत्वलाई यसरी दर्शाइएको छ ।

आज रमा एकादशी हो । वैदिक सनातन धर्ममा एकादशी व्रतको धेरै महत्व रहेको पाईन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्ष भनेको ठूला पापहरूको नास गर्नु हो । रमा एकादशीको विषयमा चर्चा गर्नु अघि समग्र एकादशीको विषयमा चर्चा गरिन्छ । वैदिक सनातन धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चांगबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौँ तिथिलाई एकादशी भन्दछन् । यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो । एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन् । अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्व बढी हुनुमा विभिन्न कारण छन्, ती यसप्रकार छन् ।

१. वातावरणमा विष्णुतत्वको स्पन्दन बढी मात्रामा हुनु ।

२. समस्त प्राणिहरूमा अधिकतम सात्विकताको मात्रा विद्यमान रहनु ।

३. शरीरमा विद्यमान चैतन्यको गति ‘ऊध्र्व’ अर्थात् माथिल्तिर प्रवाहित हुनु ।

४. व्रत सम्पादन गर्न सजिलो हुनु ।

५. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु ।

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौँ, दशै इन्द्रीय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छाँै । एकादशी तिथिको जति महत्व छ, त्यत्तिकै महत्वपूर्ण एकादशीको व्रतको पनि छ । एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ । पद्मपुराणमा एकादशीको व्रतको महत्वलाई यसरी दर्शाइएको छ ।

अश्वमेधसहस्राणि राजसूयशतानि च ।
एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।१।।

यसको अर्थ हो, हजारौँ अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्व एकादशी व्रतको सोह्र भागको एक भाग जति पनि हुँदैन । प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग । हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्व छ, त्यो के हो भने अन्य समस्त व्रत संकल्प गरेपछि प्रारम्भ हुन्छन् र संकल्प गरेर मात्र समाप्त हुन्छन् । यहाँ संकल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ । मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा संकल्प भनिन्छ । प्रत्येक व्रतको सुरुमा र अन्त्यमा संकल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त संकल्प गरिरहनु पर्दैन । यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले विनासंकल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामथ्र्य राख्दछ ।

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामथ्र्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ –
स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।
न गंगा न गया राजन् न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन् ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पूण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गरिएका गंगा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ । यस्ता पवित्रतम् स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ । अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौँ । संक्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन् । एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो । हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि ।

रमा एकादशी
धर्मशास्त्रका उल्लेख भएअनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक प्रतापि राजा थिए । उनको देवराज इन्द्रसहित यम, कुबेर, बरुण र विभीषणसँग गहिरो मित्रता थियो । उनी विष्णु भक्तिका कारण धर्मात्मा र न्यायमूर्ति थिए । त्यस्ता शोभित राजाका चन्द्रभागा नाम गरेकी एउटी छोरी थिइन, जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसँग भएको थियो । शोभन अलिक दुर्वल, कमजोर र भोक सहन नसक्ने खालका थिए । एकदिन राजकुमार शोभन कार्तिक कृष्णपक्षमा ससुराली पुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो । जव रमा एकादशी व्रतको दिन आयो, तव मुचुकुन्दले आफ्नो राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणा गरिदिए । यो खबरले शोभन सारै चिन्तामा परे र आफ्नी पत्नी चन्द्रभागासँग चिन्ताप्रकट गर्न थाले । पति शोभन भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागालाई पनि सारैचिन्ता प¥यो ।
त्यहि बेला चन्द्रभागाले उपाय निकालेर भनिन् कि, हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन अरू त के ? जीवजन्तुसमेत भोजन गर्दैनन् । त्यसो भएकोले यदि तपार्इं चाहनुहुन्छ भने अरू कुनै ठाउँमा गएर भोजन गर्न सक्नुहुन्छ । तर, यहीँ रहने हो भने एकादशी व्रत विधि पूरा गर्नुपर्दछ । पत्नी चन्द्रभागाको यस्तो सुझाव सुनेपछि शोभनले आफू अन्त्य कतै नजाने बरु व्रत नै बस्ने, जस्तोपर्छ त्यस्तै टर्छ भन्ने अठोट गरेर एकादशीका दिन व्रत बस्ने निधो गरे । यस प्रकारले शोभनले व्रत बसे, तर उनलाई धेरै भोक र प्यास लाग्न थाल्यो । उनले भोक तिर्खा सहन सकेनन् र एकादशी व्रतको समाप्तिपछि भोलिपल्ट प्रातकालमै शोभनको प्राण गयो ।

पतिको मृत्यूपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात माइतै बस्न थालिन् । तर, रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्रराज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । एकदिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राम्हण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेका उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सवै इति वृतान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सवै घटना बृतान्त सुनाए र रमाएकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राम्हणलाई सुनाए ।

यस्तो चमत्कारिक सत्यबारे ती ब्राम्हणले पुनः आफ्नो तीर्थयात्रा समाप्तिपछि मुचुकुन्द पुत्री चन्द्रभागालाई सविस्तार सुनाए । त्यसपछि चन्द्रभागाले आफूलाई मन्दराचल पर्वत पु¥याइदिन ती ब्राम्हणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पु¥याए र वामदेव ऋषिका आश्रममा राखे । वामदेव ऋषिले चन्द्रभागासँग सबै वृतान्त सोधे र वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिर पनि दिव्य प्रज्वलित भयो । त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समिप पुगिन र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपुर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य विराज गरे । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्दछ, उसको यसै गरी सबै पाप नाश भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास रहेको छ ।

रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठि नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्दछ । रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फुल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमाभैmँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एकसमय मात्रै भोजन गर्ने चलन रहेको छ ।

प्रतिक्रिया