सिद्धार्थ बैंकसँग त्रिपक्षीय सहकार्य

काठमाडौं । जर्मन सरकारको सहयोगमा दिगो आर्थिक विकासका लागि सिद्घार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रोजेक्टका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो । यसमा सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकमध्येबाट सिद्घार्थ बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लु डेभलपमेन्ट बैंकद्वारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्शलगायत आवश्यक प्राविधिक सेवाहरू प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाखदेखि ४० लाख सम्मको कर्जा सुविधा, १० वर्ष सम्मको कर्जा अवधि, लघु, साना तथा मझौला उद्यमीलाई सीपमूलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग उपलब्ध गराउने पनि उल्लेख छ । योजनाले ग्रामीण तथा अर्धसहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीलाई उद्यमशीलता विकासका लागि आवधिक कर्जाका साथै सीपमूलक तालिम प्रदान गर्ने बैंकको उद्देश्य रहेको छ ।

विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बीचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरूको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया