‘हन्ड्रेड आवर्स’ मा सञ्चारमन्त्रीको मुहारचित्र

काठमाडौं । अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा सय घण्टे अर्थात् ‘हन्ड्रेड आवर्स’ भर्चुअल कला कार्यशाला आइतबारदेखि सुरु भएको छ । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर कार्यशालाको सुरुआत गरिएको हो । कार्यशालाको उद्घाटनपश्चात् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले मन्त्री गुरुङको मुहारचित्र बनाएर अनलाइन कार्यशालाको शुभारम्भ गरेका हुन् । कुलपति कर्माचार्यले मन्त्रीलाई मोडल बनाएर जलरङद्वारा मुहारचित्र बनाए ।

उक्त कार्यक्रममा मन्त्री गुरुङले विश्व रेकर्ड राख्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे । उनले भने, ‘कला र संस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने छ ।’ मन्त्री गुरुङले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले उक्त कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विश्वमा नेपालको पहिचान दिलाउन कार्यशालाले महत्वपूर्ण सघाउँ पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कोरोना महामारीका कारण कलाकारलाई प्रविधिसँग जोडिनुपर्ने बाध्यता रहेको छ । कोरोनाले समस्या र चुनौतीसँगै मानिसलाई फरक ढंगले अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना गरेको छ । यही सन्दर्भमा नेपाली कला र कलाकारलाई विश्वसँग जोड्ने अभिप्रायले कार्यशाला गरिएको हो ।’

निरन्तर रिले रुपमा यसरी सय घण्टासम्म विश्वमै कार्यशाला नगरिएको जनाउँदै सोसाइटीका नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुङले विश्व अभिलेख राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिकिर गरे । उनले कार्यशाला मुलुकका लागि महत्वपूर्ण आयाम भएको सुनाउँदै कोभिड–१९ संक्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही २३–२७ गतेसम्म सय घण्टासम्म कार्यशाला आयोजना गरिएको जानकारी दिए ।

गुरुङले कार्यक्रमको उद्घाटनपश्चात् कलाकारले एक सय घण्टासम्म निरन्तर जलरङबाट चित्र बनाउने बताए । कार्यशालामा चित्र कोर्न ७३ जना कलाकार सहभागी हुने सोसाइटीका महासचिव दीपेन्द्रमान बनेपालीले जानकारी दिए । उनका अनुसार एकजना कलाकारले दुई घण्टासम्म चित्र सिर्जना गर्नेछन् । बीचमा आउनसक्ने अवरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ ।

प्रदेश १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महत्तो, वाग्मती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्ने सोसाइटीले जनाएको छ । महासचिव बनेपालीका अनुसार कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ । नेपाली कलाको वर्तमान परिदृश्यलाई कार्यशालाले चिनाउने जनाउँदै नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले भने, ‘कोरोना संकटका बीच गरिएको यो कार्यशालाले देश र विदेशमा रहेका नेपाली कलाकारलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आशा लिन सकिन्छ ।’ उनले विश्वमा नेपाली कलाको विकास र अवस्थालाई चिनाउन यो कार्यशालाले सहयोग पु¥याउने विश्वास लिएको बताए ।

प्रतिक्रिया