यो साता विदेशमा ५४४ जना नेपाली कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार, विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

१० हजार किट स्वास्थ्य सामग्री

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब रु एक करोड मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको चर्चा गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गरे ।

प्रतिक्रिया