महिला सहकारी सदस्यका खसीबोका कारोवार

देउखुरी । बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् ।

महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप दुई सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना छ ।

दाङबाट यस वर्ष एक हजार खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजनानुसार अहिलेसम्म आठ सय खसीबोका खरीद गरिएको खाद्य कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । सुरुमा ६ सय खसीबोका खरीद गर्ने कार्यक्रम आए पनि पछि थप चार सय खसीबोका खरीद गर्ने जिम्मेवारी आएको कम्पनीले जनाएको छ ।

उनले भने, ‘खसीबोका सहजरुपमा पाउन थालेपछि जिम्मेवारी पनि बढेको छ, सहकारीमार्फत किसानले व्यावसायिक बाख्रा पालन गर्न थालेपछि उत्पादन बढ्यो ।’ प्रतिकिलो जिउँदो खसी रु ५३० देखि रु ५५० मा कम्पनीले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रतिकिलो रु ५३० सम्ममा किन्ने गरेको छ ।

सहकारीले लिने सेवा शुल्क किसानलाई कार्यक्रममार्फत फर्काउने गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवीमाया थापाले जानकारी दिइन् । सहकारीमार्फत कारोवार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले यस वर्ष कारोवार बढेको उनको भनाइ छ ।

प्रतिक्रिया