टोलटोलमा पुगेर सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली । यहाँको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।

टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती सनुवारले बताइन् । उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता बैंकसम्म पुगेर ल्याउन सक्ने सम्भव देखिँदैन, घण्टौँसम्म पैदल हिँडेर ज्येष्ठ नागरिकलाई भत्ता लिन जान झन् समस्या छ । यस्ता समस्याको समाधान गर्न गाउँपालिकाले टोलटोलमा पुगेर भत्ता वितरण गर्ने अभियान चलाएको छ ।’

लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताइन् । हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उनले जानकारी दिइन् ।

जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको संक्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको उपाध्यक्ष सुनुवारले बताइन् ।

प्रतिक्रिया