सारा ‘कुल्ली नम्बर १’ को प्रचार नजाने

मुम्बई । अभिनेता वरुण धवन र अभिनेत्री साराअली खानको प्रमुख भूमिका रहेको बलिउड चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछ । क्रिसमसको अवसर पारेर सार्वजनिक गर्न लागिएको यस चलचित्रको प्रचारमा भने अभिनेत्री सारा सहभागी नहुने जनाइएको छ । पछिल्लो समय अभिनेत्री सारा लागुऔषधको मुद्दाका कारण आलोचित बन्दै आएकी छन् । एनसिबीले उनीसँग यो विषयमा सोधपुछसमेत गरेको छ । उनले आफूले ड्रग्सको सेवन नगरेको जिकिर गर्दै आएकी छन् । यस चलचित्रकी अभिनेत्री साराले प्रचारमा सहभागी नभएर मिडियासँग दुरी बनाउने तयारीमा रहेको जनाइएको छ ।

भारतीय समाचार माध्यमले साराले यो निर्णय लिनुको कारण अनावश्यक विवाद उत्पन्न नहोस् भनेर उल्लेख गरेका छन् । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणपछि भारतीय चलचित्र उद्योगमा परिवारवार र कृपावादको प्रसंग जोडतोडले उठिरहेको छ । यसैबीच सञ्चार माध्यममा फेरि अभिनेत्री सारा पुग्दा नेपोटिज्म र ड्रग्सको मुद्दा प्राथमिकतामा रहने भएकाले उनी चलचित्रको प्रचारमा नदेखिने भएकी हुन् । अभिनेता वरुण धवनले समेत निकै कम सञ्चार माध्यमसँग मात्र चलचित्रको विषयमा अन्तक्र्रिया गर्ने तयारीमा छन् । अभिनेत्री सारा ड्रग्सको मुद्दामा फसिरहँदा उनलाई सहयोग नगरेको भन्ने आरोप उनका पिता सैफअली खानले भोगिरहेका छन् । तर, सैफको योजना अनुसार नै सारा मौन बसेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया