क्षयरोगीलाई उपचारमा ल्याउन सकरात्मक कदम, दैनिक अण्डा वितरण

काभ्रे । बाग्मती प्रदेशको अति विकटको सूचिमा रहेको खानीखोला गाउँपालिकास्थित ताल्ढुंगा स्वास्थ्य चौकीले क्षयरोगी बिरामीलाई दैनिक उपचारमा ल्याउन नयाँ सकरात्मक कदम सूचारु गरेको छ ।

विगतको वर्षहरुदेखि नै नेपाल सरकारको पुनः उपचारमा आएका क्षयरोगी (टिभी) का बिरामीहरुलाई दिइने पोषणको कार्यक्रम रहेको भए पनि यसको कार्यान्वयन हुन सकेको थिएन ।

विकटका क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउन सकरात्मक कदमस्वरुप ताल्ढुंगा स्वास्थ्यचौकीद्वारा क्षयरोगका बिरामीलाई दैनिक अण्डा वितरण गर्ने कार्यक्रमको आरम्भ गरेको स्वास्थ्यचौकीका इन्चार्च नवराज दाहालले बताए ।

पुनः उपचारमा आएका क्षयरोगी (टिभी) का बिरामीहरुलाई अण्डा वितरण गर्दै खानीखोला गाउँपालिकाका सामाजिक विकास संयोजक एवं ३ नम्बर वडाका वडाध्यक्ष जय बहादुर लुंगेलीले यो कार्यक्रम निकै सकरात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं ५ नम्बरका वडाध्यक्ष दुर्गा प्रसाद तिमल्सिनाले यो कार्यक्रमलाई निरन्तरता दिने कुरामा र यस्ताखाले अरु विषयहरुमा पनि काम गर्ने कुरामा आफूहरु अगाडि बढिरहने बताए ।

नेपाल सरकारकै केही पैसा र बाँकी अपूग रकम समाजसेवी स्थानीय ब्यवसायी विष्णु कुमार नेपालीले प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस्ता बिरामीहरूका लागि दैनिक २ वटाका दरले उपचार अवधिभर अण्डा उपलब्ध गराउन पाउँदा आफूले निकै गौरवको महसुस गरेको बताए ।

लामो समयदेखि व्यवसायीक पेशा अंगालेका समाजसेवी नेपालीले यस्तो अवस्थाका विरामीलाई सहयोग गर्न पाउँदा मन आनन्दीत हुने गरेको बताए । स्वास्थ्यचौकीका इन्चार्च नवराज दाहालका अनुसार खानीखोला गाउँपालिकामा २०७६ मंसिर महिनाबाट टिभी ल्याब सञ्चालन गरेको र हालसम्म १ सयभन्दा बढीको खकार परीक्षण भएको तथा आधा दर्जनहरुमा क्षयरोग पत्ता लगाई उपचाररत रहेको पनि बताए ।

इन्चार्च दाहालले क्षयरोगका बिरामीलाई पोषणको मात्रा पूरा गर्न अण्डाको भूमिका रहने बताए । उनले गरिबीका कारण पैसा नभएका र त्यस्ता रोगीहरुले रोग पालेर बसिरहेको अवस्थाहरुलाई बाहिर उपचाररत अवस्थासम्म ल्याउन यो कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

दाहालले नेपालमा हरेक वर्ष ७० हजारमा क्षयरोग देखिने गरेकोमा आधाले पनि उपचार सेवा नलिने गरेको तथ्यांक रहेको भन्दै खानीखोला गाउँपालिकाको सन्दर्भमा हरेक वर्ष ३२ जनामा क्षयरोगका नयाँ रोगी भेटिनुपर्ने भए पनि त्यसको लागि जनचासो र प्रयास अभावका कारण केही पनि सम्पर्कमा नआउने तथ्यांक अब तोडिएको बताए ।

साथै उनले अब आफूहरु छिट्टै तार्गेट अनुसार रोगीहरुको तथ्यांकमा पुग्ने प्रयास गरिरहने बताए । जिल्लाभरको यसको तथ्यांक पनि यस्तै लुकेको छ । तर, खुला प्याकेजका कार्यक्रम र प्रोत्साहन नपाउँदा हजारौँ विरामीहरुले रोग, लुकाई पालेर बस्न विवश हुने गरेको बताइन्छ ।

दाहालले सुत्केरी सेवाको सन्दर्भमा ताल्ढुंगा स्वास्थ्य चौकीबाट चालू आवमा २० जना सुत्केरी गत आवमा ५८ जना गर्भवतीहरुले सुरक्षित सुत्ेकरी सेवा लिएको बताए । उनले कर्मचारी र आर्थिक अभावका बावजुद पनि आफ्नो सेवा प्रवाहको सन्दर्भमा चुस्त दुरुस्त गर्नुपर्ने कुरामा कति पनि कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया