डा. सुधाको ‘सिंहदरबारको घुम्ने मेच’

काठमाडौं । डा. सुधा शर्माद्वारा लिखित संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ बजारमा आएको छ । डा. शर्माको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले आउने पुस्तालाई पुस्तकले केही सिक्ने मौका दिने धारणा व्यक्त गरे । उनले भने, ‘पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनुभएको छ ।’  प्रसूति तथा स्त्री रोग विशेषज्ञ रहेकी डा. शर्माले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् । उनले पुस्तकमा निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवले सामना गर्नुपरेका विषयलाई केलाएकी छन् । काम महिला सचिवले भोग्नुपर्ने कठिनाइ र असहजताको वर्णन गरिएको छ ।

सरकारले महिलाको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गरे पनि महिला नेतृत्व स्वीकार्न नसकेको यथार्थ नेपाली राजनीतिमा अहिले पनि टड्कारो रुपमा देखिरहेको छ । प्रकाशक नेपालयले यो पुस्तक बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको जनाएको छ । नेपालयले पुस्तकमा त्यसबेलाका घटनाको चाखलाग्दो अभिलेख रहेको जनाउँदै जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्याएको विषयलाई चित्रण गरिएको उल्लेख गरेको छ । पुस्तक ‘नयाँ नेपाल’ को समायोजनका क्रममा कर्मचारीतन्त्रभित्रको उबडखाबड बाटो हिँड्दाको कथा पनि हो ।

नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठले डा. शर्माको पुस्तक एक महिलाको कथा भएको र जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको सुनाइन् । उनले भनिन्, ‘यस पुस्तकले नेपालमा पहिचान र लिंगमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।’

प्रतिक्रिया