प्युठानमा दशैं मेलामा प्रतिबन्ध, विद्यालय पूर्णरुपमा बन्द

प्युठान । प्युठान जिल्लाको दशैंमा लाग्ने मेलामा रोक लगाउने तथा सबै विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार आकस्मिक बसेको बैठकले कोरोना जोखिम बढेको भन्दै दशैंमा लाग्ने मेलामा रोक लगाउने तथा विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै जिल्लामा दशैं मेलामा पूर्णतया रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । जिल्लामा दशैंका अवसरमा मुख्यतयाः विजुलीकोट, तुषाराकोट, ओखरकोट, खैराकोट लगायत कोटघरमा हजारौँको उपस्थितीमा भक्तजनको मेला लाग्ने गर्दछ ।

ती स्थानमा सामान्य रुपमा धार्मिक पूजाआजा बाहेकका मेला गर्न रोक लगाइएको प्रजिअ भुसालले बताए । उनले भने, ‘नित्य पूजाबाहेक जात्रा, महोत्सव, सराँए नाँच सवै बन्द गर्ने गर्ने निर्णय गरेका छौँ ।’ त्यसैगरी, बैठकले जिल्लाका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सवारीले मापदण्ड पूरा गरे नगरेको अनुगमनसहित कारवाही गर्ने, बजार क्षेत्रलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । मापदण्ड पूरा नगरेमा यातायात र बजारलाई सिल नै गर्ने निर्णय गरिएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार खेलकुद, मनोरञ्जनलगायत क्षेत्रलाई समेत निषेध गरिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया