प्युठानमा ४ अस्पताल १५ शैयाको बन्ने

प्युठान । जिल्लाका चार वटा पालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । सरकारले यसअघि जिल्लाका विभिन्न पालिकाका स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पताल बनाउन स्विकृत दिएसँगै सुविधासम्पन्न अस्पताल बन्ने भएका हुन् ।

स्वास्थ्य संस्था स्तरोन्नतीका लागि संघीय सरकारले बजेट स्वीकृत गरेपछि १५ शैयाको अस्पताल बन्ने निश्चित भएको स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।

जिल्लाको माण्डवी गाउँपालिकाको देविस्थान, ऐरावती गाउँपालिकाको बरौला, नौबहिनी गाउँपालिकाको लुङ र गौमुखी गाउँपालिकाको पुँजा स्वास्थ्य चौकीलाई १५ शैयामा स्तरवृद्धि गरि पालिका स्तरीय अस्पताल बनाउन लागिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले बताए ।

जिल्लाका पालिकामा १५ शैयाको अस्पतालमा स्तरोन्नती हुन लागेका चार वटा स्वास्थ्य संस्थाका गत आर्थिक वर्षमा घोषणा भएपनि चालु आर्थिक वर्षको बजेटबाट रकम प्राप्त भइ काम सुरु हुने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए ।

सम्बन्धित गाउँपालिकामा बजेट प्राप्त भइसकेको र भवन निर्माणको प्रक्रिया अगाडी बढ्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए । अस्पतालको भवन निर्माणका लागि यसअघि नै जग्गा माग गरिएको बताउँदै उनले भने, ‘जग्गा पास भइनसेकोले अव प्रक्रिया अघि बढाउने तयारीमा छौँ ।’

कार्तिक मसान्तभित्र काम सुरु गुर्नपर्ने भएकाले त्यस अनुसार काम अघि बढ्ने उनले बताए । अस्पतालको भवन निर्माणको लागि छनौट भएका स्वास्थ्य संस्थाको लागि एक करोड रुपैयाँको दरले बजेट स्थानीय तहमा जाने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए ।

अघिल्लो आर्थिक वर्षमा भवन डिभिजन कार्यालयमार्फत काम भएपनि चालु आर्थिक वर्षबाट स्थानीय सरकारलाई दायित्व हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए । पालिकामा १५ शैयाको अस्पताल बनेपछि दुर्गम गाउँ बस्ती स्वास्थयको पहुँचमा आउने अपेक्षा स्थानीय सरकारले लिएका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया