निर्माण व्यवसायी भागेपछि श्रमिकको विचल्ली

 

खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिई निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरू आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाइँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरू आक्रोशित बनेका हुन् । गत २८ भदौमा सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गरेको एकै पैसा पनि आफूहरूले नपाएको श्रमिक सुक्छिरी शेर्पाले बताए । शेर्पाका अनुसार ३ लाख ९५ हजार ३ सय ५० रकम पाउनुपर्नेबारे निर्माण व्यवसायी विमान र श्रमिकबीच हिसाब भएको थियो ।

सडक ढलानको काम सकेपछि पैसा लिन दिक्तेलमा बोलाएको तर, पेटी ठेकेदार भागेको श्रमिकहरूले बताएका छन् । आफूहरूले काम गरेको पैसा नपाएपछि पैसा दिलाइदिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीसम्म पुगे पनि उनीहरूले समेत बेवास्ता गरेको श्रमिकहरूको गुनासो छ ।  आफूहरूले पाउने पैसा दिलाइदिन दुईपटक नगरपालिका पुगेर समस्या राख्दा नगर उपप्रमुखले वकिलसँग कुरा गर्नु भन्दै टारेको शेर्पाले बताए । दिक्तेलस्थित सामुदायिक प्रहरी सेवा केन्द्र पुग्दा पनि प्रहरीले समेत पैसा लेनदेनको कारोबार हेर्दैनौँ भन्दै अदालत जान भनेर फकाइदिएको उनीहरूको गुनासो छ ।

आफूबाट कन्ट्र्याकमा काम लिएका विमानले ७ लाख ७० हजार बराबरको काम गरेको र आफूले सबै रकम भुक्तानी दिइसकेको अर्का निर्माण व्यवसायी लोकेन्द्र राईले बताए । ‘श्रमिकले पैसा नपाएको भन्ने मैले पनि सुनेको छु’, उनले भने, ‘विमानजी मसँग नि सम्पर्कमा छैन । सम्पर्क गर्दा उनको फोन अफ पाइएको छ ।’ किराँतचोकदेखि सिचाइँगेटसम्मको सडक ढलान दिव्य ज्योति आरडी रुजन जेभीले ठेक्का पारेकामा राईमार्फत कन्ट्र्याकमा लिएर विमानले काम गरेका थिए । अहिले काम लगाउने निर्माण व्यवसायी भागेपछि १९ जनाभन्दा बढी श्रमिक दिक्तेल बजारमै अलपत्र परेका छन् ।

लामो समयसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यस वर्ष तीन खण्डमा विभाजन गरेर ढलाको काम गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग विराटनगरको क्रमागत योजनाअन्तर्गत करिब १५ करोड रकम लागतमा सम्पन्न हुने दिक्तेल बजारको सडक ढलानका लागि यस वर्ष पाँच करोड बजेट थियो ।  मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजार ढिलै भए पनि ढलान हुन थालेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुईपटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ ।

प्रतिक्रिया