काठमाडौं । संघीय संसदमा रहेका प्रमुख तीन दल महाधिवेशनको तयारीमा जुटेका छन् । दुई दल एकता महाधिवेशन र नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी भने एकता महाधिवेशनमा जुटेपनि अहिलेसम्म एकताले पूर्णता पाउन सकेको छैन । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनपछि तीनै दलका सांगठनिक संरचनाहरु भताभुङग अवस्थामा रहेका छन् । नेकपाका त कतिपय संगठनले पूर्णता समेत पाउन सकेका छैनन् । नेकपाले आउँदो चैत्र २५ देखि ३० गतेसम्म, नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति नै घोषणा गरिसकेका छन् । जसपाले पनि बैशाखमा महाधिवेशन गर्ने तयारी गरेको छ । तर, तीनै दलका सांगठनिक संरचना नै भताभुङग हुँदा महाधिवेशन समयमा हुनेमा आशंका व्यक्त हुन थालेका छन् ।
कोरोनाको कहरले गर्दा पनि महाधिवेशनका कार्यतालिकाहरु प्रभावित हुने देखिएको छ ।
काठमाडौंमा महाधिवेशन गर्ने निर्णय नेकपाले गरेपनि अहिलेसम्म त्यस बाहेक अन्य कुनै निर्णय र महाधिवेशनको खाका बनाएको छैन । अझ एकीकरण प्रक्रियाको सकसवाट पार पाउन नसक्दा सांगठनिक संरचनाहरू लथालिंग अवस्थामा छन् । एकता भएका संगठनमा पनि कतिपयमा विवाद छ । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले एकीकरण प्रक्रियालाई निष्कर्षमा पु¥याउने निर्णय गरेअनुसार सचिवालय बैठकमा छलफल भएपनि टुंगोमा पुग्न सकेको छैन ।
नेकपाले स्थायी कमिटीमा रिक्त रहेका सदस्यको पदपुर्ति गर्ने, पोलिटब्यूरो गठन गर्ने, केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने, रौतहट, धनुषा, महोत्तरीमा जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराउनेलगायतका एकीकरणका काम सम्पन्न गर्नै बाँकी छ । पार्टीका केन्द्रीय विभागका नेतृत्व चयन भए पनि त्यसमाताहतका सदस्य चयन गर्न पनि बाँकी नै छ । जनवर्गीय संगठनहरूको नेतृत्व चयन भए पनि त्यस मातहातका सचिवालय, विभाग र जिल्ला कमिटीहरूको समायोजन गर्न नसक्दा नेकपाका माथिदेखी तलसम्मका सांगठानिक संरचना अधुरा र अपुरा छन् । कहिले ति पदपूर्ति हुने हुन् र महाधिवेशन हुने हो नेकपाका कोही नेता पनि किटान गरेर भन्न सक्दैनन् ।
उता, प्रमुख प्रतिपक्षी कांग्रेसको १४औं महाधिवेशन फागुनमा तोकिएपनि तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग भएको एकीकरण अझै टुंगोमा पुग्न सकेको छैन । त्यस्तै सुनिलबहादुर थापाको नेतृत्वमा आएको राप्रपाका समूहका सदस्यहरूले पनि अझै जिम्मेवारी पाइसकेको अवस्था छैन । पार्टी एकीकरणको समायोजन नसकिँदा क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधि चयन गर्न समस्या भएको छ । कांग्रेसको एकीकरण प्रक्रियासमेत नटुगिंदा प्रदेश २ का आठ जिल्लासहित २६ जिल्लाको क्रियाशील सदस्यता टुंगोमा पुग्न सकेको छैन ।
तल्ला समितिमा समस्या भइरहदा कांग्रेसको नेतृत्वमा नै अहिले गम्भिर मतभेद देखिएको छ । महाधिवेशनको मुखमा भएको नियुक्ति र विभागलाई दिएको पूर्णतामा सभापति शेरबहादुर देउवा इत्तर खेमा असन्तुष्ट छ । महाधिवेशन तयारीका लागि गत १९ गते बोलाइएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक सारिएको हो ।
जसका कारण कांग्रेसकै नेताहरु फागुनमा महाधिवेशन हुदैन भन्ने कुरा सार्वजनिक रुपमा प्रष्ट भन्न थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनको प्रस्ताव गरिसकेका छन् भने पूर्व महामन्त्री कृष्ण सिटौलाले पनि मिति सार्नुपर्ने बताईसकेका छन् । सम्भवत २५ गते बस्ने केन्द्रीय समिति बैठकले यसविषयमा निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् ।
तराई मधेस केन्द्रित राजनीति गर्दै आएको जनता समाजवादी पार्टी नेपालले पनि एकीकरण प्रक्रिया टुंग्याउन नसक्दा उसको सांगठनिक संरचनाले पूर्णता पाउन सकेको छैन । तत्कालीन राष्ट्रिय जनता पार्टी (नेपाल) र समाजवादी पार्टीबीच लामो समयको प्रयासपछि एक्कासी एकीकरण भएर गत बैशाख १० गते जसपा बनेको हो । महन्थ ठाकुर र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष, राजेन्द्र महतो र अशोक राईलाई वरिष्ठ नेता तथा ५१ जना नेतालाई केन्द्रीय कार्यकारिणी समितिको सदस्य चयन गर्नु बाहेक जसपाले थप सांगठनिक संरचना बनाउन सकेको छैन् ।
एक वर्षभित्र एकताको महाधिवेशन सम्पन्न गर्ने भनेर निर्णय गरेर एकीकरणमा सामेल भए पनि ४ महिना बितिसक्दा समेत जसपाको सांगठनिक संरचना पूर्ण हुन सकेको छैन । शिर्ष नेता कै जिम्मेवारी बाँडफाँड हुन सकेको छैन भने पछिल्लो पटक त छलफल समेत भएको छैन । केन्द्रीय समिति सदस्य बाँडफाँडमा सहमति जुटेपनि तत्कालिन राजपाभित्र रहेका ६ अध्यक्षको भागमा कति कति सदस्य बाड्ने भन्नेमा समस्या देखिएको छ । यसैगरी, कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का बीचमा गत फागुन २४ गतेदेखि सुरु भएको एकीकरण प्रक्रिया अझै टुंगिएको छैन । एकताको महाधिवेशन आउनका लागि ७ महिना बाँकी रहदाँसम्म राप्रपाको एकीकरण प्रक्रिया टुंगिन नसक्दा के हुने भन्ने अन्यौल कायमै छ ।
प्रतिक्रिया