मानवीय स्वास्थ्यमा गम्भीर खेलवाड

काठमाडौं । नेपाली बजारमा प्याकेटमा पाइने खाद्य बस्तुमा चरम खेलवाड हुने गरेको भेटिएको छ । चकलेट, विस्कुट, ट्याङ जुस, केकमा प्रयोग गरिने चेरी, पिठो, तेल लगायतका बस्तु म्याद सकिएपछि पनि फेरी म्याद थपेर बजार पठाउने गरेको भेटिएको हो । प्रहरीले बिहीबार र आइतबार तीन ठाउँमा छापा मार्दा म्याद सकिएका खाद्य बस्तुमा नयाँ लेबलिङ गर्दै गरेको अवस्थामा फेला पारेको छ । यस्ता कार्य राजधानी भित्रिने पश्चिमी सीमा कलंकी आसपासका घरमा भेटिएको छ । प्रहरीले आइतबार केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि नयाँ म्याद राख्दै गरेका चार जनालाई कलंकीस्थित एक गोदामबाट पक्राउ गरेको छ । पाँचतले घर नै भाडामा लिएर कामदारलाई समेत सोही घरमा राखेर त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

सो पाँचतले घरमा करिब १ हजार ४ सय प्रकारका कच्चा पदार्थ रहेको प्रहरीले जानकारी दिएको छ । सो गोदामबाट प्रहरीले क्वालिटी म्यानेजर, स्टोरकिपर र लेखापाललाई पक्राउ गरेको बताएको छ । क्वालिटी म्यानेजर रस्मिता श्रेष्ठ, स्टोरकिपर विनोद ओझा, लेखापाल आनन्दकुमार अवस्थी र अनिलकुमार बंकालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । प्रहरीका अनुसार कम्पनीको सञ्चालकमा प्रविन बंका र किरणदेवी अग्रवाल देखिएको र उनिहरूको खोजी सुरु गरिएको बताएको छ ।

बिहीबार प्रहरीले कंलकीबाट म्याद सकिएका ओरियो बिस्कुटसहित बर्नभिटा, स्नेकर्स चकलेट, ट्याङ जुस लगायतका दर्जनौँ खाद्यबस्तुमा पुनः म्याद लगाउँदै गरेका बेला फेला पारेको थियो । त्यहाँ पक्राउ परेकाले यस्तो कार्य दुई वर्षदेखि गर्दै आएको बयान दिएका छन् । जसबाट बजारमा कति म्याद गुज्रिएको सामान गयो भनेर एकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ । महँगै भए पनि उपभोक्ताबीच लोकप्रिय तयारी खाद्य पदार्थदेखि लक्स साबुन, डोभ स्याम्पु, भ्यासलिन, लाइफबोई साबुन, क्लोज अप र पेप्सोडेन्ट मन्जन, एक्स पफ्र्युमलगायत समेत म्याद सकिएको पाइएको छ । यस्ता सामग्री प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गर्दछ ।

कोरोना संक्रमणका बेला मानव स्वास्थ्यमा गम्भीर असर पर्ने यस्ता खाले सामग्री बजारमा पनि भेटाइने भन्दै अनुगमनलाई थप प्रभावकारी बनाउन सरोकारवालाले माग गरेका छन् । तर, प्रशासनले भने पक्राउ परेकालाई निक्कै कम धरौटी र कतिपयलाई साधारण तारेखमा रिहा गरिदिएको छ । बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवालसहित सात जनालाई विभागले उधारो धरौटीमा शुक्रबार हिरासत मुक्त गरेको हो ।

मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने कम्पनीका सञ्चालकलाई विभागले रोएकै भरमा छाडिदिएको छ । करिब दुई करोडको सामान भेटिएको सो कम्पनीकी सञ्चालक अग्रवाललाई एक करोड धरौटी बुझाउने सर्तमा छाडेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार पुष्पादेवीका आफन्तले जग्गाको लालपूर्जा विभागमा बुझाएका छन् ।

प्रतिक्रिया