विद्यार्थीलाई घरघरमै पुगेर परियोजना कार्य

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाले विद्यार्थीहरूका लागि परियोजना कार्य तयार पारी लागू गरेको छ । कोरोना संक्रमणका कारण विद्यालयहरू ६ महिनादेखि बन्द भएपछि वैकल्पिक पठनपाठनका लागि परियोजना कार्य तयार गरेर लागू गरिएको हो ।  कपुरकोट गाउँपालिकाभित्र रहेका ४ हजार ५ सय विद्यार्थीलाई घरघरमै पुगेर परियोजना कार्य दिइएको गाउँपालिकाले जनाएको छ । एक विद्यार्थीलाई कक्षामा पठनपाठन हुने विषयका आधारमा १६ वटा प्रश्नावली तयार पारी विद्यार्थीका हातहातमा पु¥याइएको कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार आचार्यले जानकारी दिए ।

‘लामो समयसम्म विद्यालयहरू बन्द हँुदा विद्यार्थीहरूका पठनपाठन मात्रै बन्द भएन यसले विद्यार्थीहरूमा बिर्सने समस्या आउन थालेको छ, उनीहरूलाई पढाइमा सक्रिय बनाउनका लागि घरदैलोमा पुगेर परियोजना कार्य दिइएको हो’, आचार्यले भने । गाउँपालिकाले गाउँपालिकाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमा हालसम्म ४ हजार ३ सय ५८ जना विद्यार्थी भर्ना भइसकेको भए पनि पठनपाठन ठप्प रहेकाले परियोजना कार्य तयार पारेर वैकल्पिक सिकाई सुरु गरिएको आचार्यले जानकारी दिए ।

कपुरकोट गाउँपालिकामा विद्यार्थीलाई पाठ्यपुस्तकसमेत वितरण गरिएको छ । विद्यार्थीलाई पाठ्यपुस्तक वितरणपछि पनि विद्यालय सञ्चालन गर्नका लागि समस्या भएपछि विषयगत विज्ञ शिक्षकहरूमार्फत विद्यार्थी संख्याको आधारमा परियोजना कार्य निर्माण गरी वितरण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । ‘परियोजना कार्यअन्तर्गत विद्यार्थीलाई घरदैलोमै पुगेर वितरण गरिएको परियोजना कार्य आगामी आइतबारदेखि पुनः शिक्षकहरू घरमै गएर संकलन गर्नेछन्, यसले विद्यार्थीको सिकाइ क्षमता तथा विद्यार्थीको पढाइप्रतिको रुचीका विषयमा समेत अध्ययन गर्न सकिनेछ’, अध्यक्ष सेनले भने ।

जिल्लामा पछिल्लो समयमा समुदाय स्तरमा समेत कोरोना संक्रमण देखिएकाले पनि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नरहेकोले गाउँपालिकाले सिकाइसम्बन्धी वैकल्पिक उपायहरूमार्फत विद्यार्थीहरूलाई पठनपाठन गराइरहेको गाउँपालिकाले जनाएको छ । शिक्षकहरू सुरक्षा सतर्कता अपनाएर घरदैलोमा पुगेको र कोरोना भाइरसबाट बच्न सकिने उपायका बारेमा पनि सचेतना फैलाइरहेको गाउँपालिका अध्यक्ष सेनले जानकारी दिए । ‘गाउँपालिकामा कार्यरत शिक्षकहरू अहिले सबै विद्यार्थीको घरदैलोमा पुग्नुभएको छ, उहाँहरूले विद्यार्थीको पठनपाठनका साथसाथै कोरोना संक्रमण न्यूनीकरणका लागि सचेतना फैलाउने कार्यसमेत गरिरहनुभएको छ’, सेनले भने । जिल्लाको कपुरकोट क्षेत्र अन्य जिल्लाहरूको प्रमुख नाका रहेकोले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया