खेलबहादुरको लुटकथा

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का खेलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनको नाम नै गज्जबको रहेको र उनको असली खेल झनै गज्जबको रहेको प्रहरी बताउँछ । खेलबहादुरले राजधानीका तीन जिल्लामा रहेर परिवार र गाउँलेसँग मिलेर लुट्ने गरेको खुलेको छ ।

उनको लुट कुनै सामान्य खालको नभई डलरको बहानामा ठूलो रकम लुट्ने शृंखलाबद्ध रहेको छ । डलर देखाएर लुटेको अभियोगमा समातिएका खेलबहादुर तामाङ लामो समयदेखि ठगी धन्दामा लागेको खुलेको छ । खेलबहादुरलाई ०६४ चैतमा काठमाडौं परिसरले पक्राउ गरेको थियो । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो । यही घटनामा उनकी दिदीसमेत समातिएकी थिइन् । तर, उनी धरौटीमा छुटिन् । खेलबहादुरको पनि जेल बसाइँ लामो भएन । एक वर्षछि १२ लाख रुपैयाँ धरौटी बुझाएर उनी पनि निस्किए ।

तर, सुधारगृहको बसाइँले उनको व्यवहार सुध्रिएन । फेरि उही पुरानै ठगी धन्दामा लागे । उनी मात्र होइन, उनका भाइ पनि यही धन्दामा । पछिल्लोपटक ठगी धन्दामा रहेका खेलबहादुर सहितको समूह भक्तपुर प्रहरीको फन्दामा परेको छ । भक्तपुरमा केही दिनदेखि शृंखलावद्ध लुटपाटका उजुरी आउन थालेपछि प्रहरी सक्रिय बनेको थियो ।

९ असोजमा एक व्यापारी पनि प्रहरी कार्यालयमा आपूm ठगिएको भन्दै पुगे । भूकम्पमा पुरिएको डलर भेटिएको र त्यसलाई सस्तोमा साट्ने भन्दै लुटिएका थिए उनी । उनलाई डलर साट्ने भन्दै सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकबाट पाँच लाख रुपैयाँ लुट्दै लुटेरा फरार भएका थिए । त्यसयता पनि प्रहरीमा डलर ठगीको उजुरी आइरहेको थियो । प्रहरीले अनुसन्धान जारी राखेको थियो ।

त्यही क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बाट प्रहरीले आठ जना व्यक्तिहरूलाई नियन्त्रणमा लियो । अनुसन्धान गर्दा पाँच जनाको कनेक्सन भने डलर ठगीमा देखियो । काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङसहित रेलबहादुर तामाङ, श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ पक्राउ परे । नाइके देखिए तीनै खेलबहादुर । उनीहरू एउटै परिवारका र केही गाउँले रहेको खुलेको छ ।

खेलबहादुरले लुटेको पैसाले नै काठमाडौंमा जग्गा किनेको देखिएको छ । गोकर्णेश्वरमा उनले २ रोपनी ४ आना जग्गा किनेका छन् । ‘तीन वर्षअघि जग्गा किनेको देखिएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले भने । प्रहरीले नियन्त्रणमा लिएका ५६ वर्षीय श्यामबहादुर र रामकृष्ण तामाङ भने बाबुछोरा भएको खुलेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म उनीहरूले ७५ लाख रुपैयाँभन्दा बढी लुटेको उजुरी परिसकेको जानकारी दिएको छ । यो क्रम अझै बढ्न सक्ने प्रहरीले बताएको छ । देशका विभिन्न ठाउँबाट पीडितले प्रहरीलाई सम्पर्क गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूले अहिलेसम्म ८ साउनमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख रुपैयाँ, १९ साउनमा मध्यपुर थिमिमै चार लाख रुपैयाँ, ३१ भदौमा मध्यपुर थिमि नगरपालिको बोडेमै पाँच लाख रुपैयाँ, ६ असोजमा बोडेमा ९ लाख ८० हजार रुपैयाँ, १३ असोजमा भक्तपुर नगरपालिका १० कमलविनायक बसपार्कमा पाँच लाख रुपैयाँ, ३१ भदौमा दोलखामा १६ लाख रुपैयाँ लुटिएको देखिएको छ ।

त्यस्तै, एक वर्षअघि ०७६ कात्तिक २ मा काभ्रेपलान्चोकको बनेपाबाट ११ लाख रुपैयाँ लुटिएको थियो । सोही समूहले ०७३ भदौ १३ मा धादिङ नौबिसेमा तीन लाख रुपैयाँ र ०७२ असोज १० मा काभ्रेपलाञ्चोकको पाँचखालबाट आठ लाख रुपैयाँ लुटिएको उजुरी परिसकेको छ ।

प्रतिक्रिया