अनुमति कुर्दै ‘परदेशी–२’

काठमाडौं । नेपाल चलचित्र क्षेत्र कोरोना संक्रमणका कारण ६ महिनादेखि ठप्प छ । कहिले सामान्य अवस्था हुने हो त्यसको कुनै टुंगो नै छैन । लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि सरकारले केह दिनदेखि धेरै क्षेत्र खुल्ला गरेको छ । यसैबीच चलचित्रकर्मी अन्य क्षेत्र खुलेकाले निर्देशिका बनाएर चलचित्र क्षेत्रलाई खोल्न सरकारसँग आग्रह गरेका छन् । मानिसको भीडभाड हुने भएकाले सरकारले संक्रमण जनस्तरमा नफैलियोस् भनेरै यो क्षेत्रलाई खुल्ला गर्न हच्किएको छ । तर, चलचित्रकर्मी भने सरकारले चलचित्र क्षेत्र खोले बन्दाबन्दीका कारण रोकिएका र नयाँ निर्माण हुने धेरै चलचित्र छायांकनको तयारीमा छन् ।

यसैबीच नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी २’ सरकारको खुकुलोपनको प्रतिक्षामा छ । सरकारले चलचित्र क्षेत्र खोल्नेबित्तिक्कै छायांकनमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । कोरोनाका कारण ‘परदेशी–२’ को छायांकन बीचमै स्थगित गरिएको थियो । निर्देशक रायमाझीले चलचित्रको करिब ६० प्रतिशत छायांकन सकिएपछि रोकिएको बताए ।  उनले भने, ‘सरकारले अनुमति दिनेबित्तिकै छायांकन जाने भनेर हामी पूरै युनिट तयारी अवस्थामा छौं । करिब १५ दिन सुटिङ गर्न पाए फिल्मको काम सकिन्थ्यो ।’ उनले अनुमति दिए सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा विधि अपनाएर चलचित्रको छायांकन गर्ने जनाए । उनले भने, ‘हामीले छायांकन सुरु गर्न पन्ध्र दिन ढिलो गरेछौं । सुटिङ सकिएको भए सम्पादनमा कोरोनाले खासै फरक पर्दैन थियो । मज्जाले फिल्म सकाउन पाइन्थ्यो ।’

निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेको यो चलचित्रको लेखन रमेश बिजीको लेखन रहेको छ । यसै वर्षको दसैंमा प्रदर्शनमा ल्याउने तयारीका साथ काम गरिएको यो चलचित्रको प्रदर्शन मिति भने अनिश्चित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ, गायक प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, बर्षा शिवाकोटी, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय रहने छ । यो चलचित्रमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षलाई देखाइने छ । निर्देशक रायमाझीका अनुसार ‘परदेशी २’ ०७२ सालमा प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’ को सिक्वेल हो । रायमाझीकै निर्माण निर्देशनमा बनेको उक्त चलचित्रमा इन्डियन आइडल प्रशान्त तामाङ, अभिनेत्री रजनी केसी, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया