नवलपुरमा प्लाज्मा थेरापीका लागि रक्तदान कार्यक्रम हुने

कावासोती । नवलपुरमा नेपालमै पहिलोपटक प्लाज्मा थेरापीका लागि रक्तदान कार्यक्रम हुने भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी प्रविधिबाट उपचार गर्न आवश्यक रगत संकलनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति नवलपुरको आयोजनामा यही असोज १९ गते कावासोतीमा सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक करुणासागर सुबेदीले जानकारी दिए । नेपालमा संस्थागत रुपमा यस प्रकारको रक्तदान कार्यक्रम पहिलो भएको आयोजकको दाबी छ ।

समितिको बुधबार कावासोतीमा सम्पन्न बैठकले प्लाज्माका लागि रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणमुक्त भइ २ हप्ताको समय पार गरेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका ब्यक्तिहरुले मात्र सो कार्यक्रममा सहभागी हुन पाउने अनुगमन समिति संयोजक सुरज गुरुङले बताए ।

नवलपुरमा ५ सय भन्दा बढी ब्यक्तिहरु कोरोना संक्रमण मुक्त भइसकेका छ्न् । प्लाज्मा दानका लागि जिल्लाभित्र मात्रै नभई छिमेकी जिल्ला र अन्य जिल्लाका ब्यक्तिहरुलाई समेत आव्हान गरिने संयोजक गुरुङ्ले बताए ।

कार्यक्रमका लागि जिम्मेवारी बाँडफाँड र तथ्याङ्क संकलन लगायतको काम सुरु भइसकेको समितिका सदस्य सचिव रमेश बस्ताकोटीले जानकारी दिए । कार्यक्रममा ५० जना भन्दा बढी दातालाई सहभागी गराउने लक्ष्य रहेको र शनिबार सम्म सबै दाताको टुंगो लाग्ने बस्ताकोटीले बताए ।

प्रतिक्रिया