१९ असोजबाट तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको चीनसँगको नाका तातोपानी असोज १९गतेबाट खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच मितेरी पुलमा मंगलबार बसेको बैठकमा नाका असोज १९ गतेबाट खोल्ने सहमति भएको हो ।  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसान दुवै पक्ष नाका खोल्न सहमत भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । चिनियाँ पक्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले बताए । उनका अनुसार यसअघि जाँच गरिएका सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदूरको पाँच÷¬पाँच दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ । छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए । तिब्बतको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिनाभन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनिँया राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया