गायक बने टाइगर

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफले पहिलो पटक गीत गाएका छन् । एक्सन नायकको रुपमा चिनिएका टाइगरले बिग बैंग म्युजिकको साथमा आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा अभिनेता टाइगरकै अभिनय छ । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका छन् ।

अभिनेता टाइगरले सधै नै आफूले आफ्नै धुनमा गीत गाउन र डान्स गर्न चाहेको बताएका छन् । अब यो सपना पूरा भएको भन्दै टाइगरले आफू उत्साहित भएको बताएका छन् । टाइगरले लकडाउनको समयमा गीत रेकडिङ गर्न र भिडियो तयार गर्न आफूलाई व्यस्त राखेका थिए ।

टाइगरले सामाजिक सञ्जालमा लेखेका छन, ‘मलाई लाग्थ्यो कि गीत गाउन भन्दा एउटा घरबाट अर्को घरमा दौडन नै गाह्रो हुन्छ । तर, गीत गाउनु अहिलेसम्मकै चुनौतीपूर्ण र सबैभन्दा आनन्द दिने काम लागेको छ । विश्वभरका संगीतकारलाई मेरो धेरै सम्मान छ । मैले अझै धेरै सिक्नु छ ।’

प्रतिक्रिया