खसी–बोकाको दसैँ बजार

नेपालीको महान् चाड बडादसैं आउन तीन साता बाँकी छ । बडादसैँको मुख्य विशेषता भनेको पशुबलि तथा मासुको भोज हो । आआफ्नो जातीय संस्कारअनुसार बोका, राँगा, हाँस कुखुरा बलि दिने प्रचलन छ । कसैकसैले कुभिण्डो, नरिवल, घिरौँला लगायतको बलि दिए पनि खानका लागि खसी तथा राँगा काट्ने गर्छन् । एक अनुमानअनुसार नेपालको पहाडी समुदायमा वर्षभरी जति मासु खपत हुन्छ त्यसको ५० प्रतिशत दसैँका अवसरमा मात्रै खपत हुन्छ । दसैँको अर्थतन्त्र मासुसँग जोडिएको छ । धेरैजसो घरपरिवारको दसैँ खर्चको आधाभन्दा बढी हिस्सा मासुले ओगट्छ । धेरै घरपरिवारको दसैँ खर्चको जोहो खसीबोका तथा हाँस कुखुरा बिक्रीबाट हुने गर्छ । खसीबोका बिक्री गरी दसैँ खर्चको जोहो गर्ने प्रचलन गाउँघरमा छ । ठूलो परिमाणमा सहरको पैसा गाउँ जाने र गाउँको पैसा सहर फर्कने यो चक्र दसैँको एक महिनाभित्र पूरा हुन्छ । मुलुकको अर्थतन्त्रलाई दसैँले धेरै नै चलायमान बनाइदिन्छ ।

कोरोनाको कहरका कारण यसपटक सधैँको जस्तो अवस्था छैन । एक महिना अघिदेखि नै गाउँबाट खसी, बोका, भेडा, च्याङ्ग्रा भित्रिन सुरु गर्दथ्यो तर यसपटक अहिलेसम्म भित्रिएको छैन । व्यापारीहरू अन्यौल छन् । मुख्य बजार राजधानी काठमाडौंमा यसपटक कति खसी, बोका, भेडा, च्याङ्ग्रा खपत हुन्छन् ? व्यापारीहरूले एकिन गर्न सकेका छैनन् । विगतमा सामान्य तया काठमाडौं उपत्यकामा दसैँका लागि मात्र ५० हजारभन्दा बढी खसीबोका खपत हुने गर्दथ्यो । यसपटक कति मान्छे गाउँ जाने हुन् ? अझै एकिन हुन सकेको छैन । गाउँ जाने परिस्थिति बन्यो भने विगतको भन्दा धेरै नै कम खपत हुने अवस्था छ । किनकी गत चैतमा सुरु भएको लक डाउनका क्रममा काठमाडौं छाड्नेमध्ये करिब २० प्रतिशत जति त फर्केकै छैनन् । विगत एक महिना यता राजधानीमा कोरोना संक्रमणले भयावह रूप लिएका कारण दसैँका बेला राजधानीबाट गाउँमा मानिसहरू पठाउने अवस्था छैन ।

अझै तीन साता समय बाँकी रहेकोले एकिन गर्न सकिने अवस्था छैन । यो अवस्थामा सरकारले व्यापक अध्ययन गरी दसैँमा मानिसहरू गाउँ जाने वातावरण बन्छ या बन्दैन ? भन्ने अहिले नै प्रक्षेपण गर्नु जरुरी छ । खसीबोकाको खपतका सन्दर्भमा सरकारले गतवर्षको दसैँमा अपनाएको रणनीति धेरै नै स्तुत्य थियो । भारतबाट खसीबोकाको आयातमा कडाई गर्नासाथ काला व्यापारीहरूले मूल्यवृद्धिका लागि खुट्टा उचालेका थिए तर सरकारले विशेष पहल गरेका कारण गत वर्षको दसैँका राजधानी काठमाडौं उपत्यकामा अघि पछिको भन्दा मासुको मूल्यसस्तो भयो ।

हाम्रो मुलुकको आफ्नै उत्पादनले मज्जाले पुग्नेरहेछ भन्ने पुष्टि भयो । बास्तवमा त्यतिबेलाका कृषिमन्त्री चक्रपाणी खनाल यो मामिलामा धन्यवादका पात्र छन् । वर्तमान कृषि मन्त्री घनश्याम भुसालले पनि आफ्नो उपस्थिति महसुस गराउन सक्नुपर्छ । पशुवलिका राम्रा या नराम्रा पक्षका बारेमा पछिल्ला दिनमा धेरै टिप्पणीहरू भएका छन् । पुशबलिका राम्रा पक्षभन्दा नराम्रा पक्षहरू धेरै छन् । तर, पशुबलि परम्परादेखि नै नेपाली संस्कृति बनिसकेका कारण यस विषयमा धेरै बहस गरिरहुनु जरुरी छैन । यसैगरी दसैँका अवसरमा एकैचोटी असुन्तुलित रूपमा धेरै मासु खाने चलन पनि नेपालको संस्कृति बनिसकेको छ । यो संस्कृतिलाई भने बिस्तारै परिवर्तन गर्दै लैजानु जरुरी छ । मासु शरीरका लागि अत्यन्त पौष्टिक आहार हो । तर, दसैँका तीन दिन जति मासु खाने गरिएको छ, त्यसले शरीरलाई नोक्सान मात्रै पुर्याउँछ । तीन दिन खाइने मासु एक महिना लगाएर खाने हो भने शरीरलाई पनि फाइदा हुन्छ, आर्थिक भार पनि कम पर्छ । यतातिर जनसचेतना अपनाउनु जरुरी छ ।

हिजो यातायात तथा सञ्चार प्रविधि नभएको युगमा शरीरका लागि आवश्यक पौष्टिक तत्व आपूर्ति गर्न माछा–मासुको विकल्प कम थियो, तर अहिले त्यो अवस्था छैन । त्यसैले खाद्य विविधता अपनाउनेतर्फ पनि जनसचेतना जरुरी छ । यसपटक त कोभिडको महामारीका कारण अस्पताल भरिइसकेका छन् । बिरामी हुँदा उपचारका लागि अस्पताल जान सक्ने अवस्था छैन । त्यसैले माछा–मासु सेवन गर्दा ध्यान पु¥याउनु जरुरी छ । अधिक सेवन नगरौँ, बासी सेवन नगरौँ ।

प्रतिक्रिया