सम्झौता विवाद सुल्झाउने क्यानको प्रतिवद्धता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको केन्द्रिय सम्झौता २०२० लाई लिएर चौतर्फी आलोचना भइरहेको छ । क्यानले राष्ट्रिय १८ पुरुष र १९ महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा राख्दै ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड सार्वजनिक गरेको थियो । नेपाली क्रिकेट इतिहासमा क्यानले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने एक राम्रो कदमको थालनी गरेको हो । तर राम्रो सुरुवातको चर्चा हुनुको सट्टा झनै विवादमा पर्यो ।

केन्द्रिय खेलाडी सम्झौता ग्रेड र पारिश्रमिक निर्धारण गर्न क्यानले बनाएको समितिका संयोजक तथा कोषाअध्यक्ष रोशनकुमार सिंहले यस विवादलाई आगमी बोर्ड बैठक मार्फत मिलाउन प्रयास गर्ने बताएका छन् । ‘ग्रेड निर्धारण र खेलाडी सम्झौतामा हामीबाट केहि कमिकमजोरी र तलमाथिको भएका होला । यो क्यानको आफ्नो घरभित्र परिवारको समस्या हो र घरको समस्या घरमै मिलाउने छ । यस विषयमा विवाद गर्न आवश्यक छैन’, सिंहले भने ।

‘यसलाई हामीले आगमी बोर्ड बैठकमा छलफल गर्दै मिलाउन प्रयास गर्ने छौं । समर्थक र शुभचिन्तकले नेपाली क्रिकेटमाथि देखाइरहेको विश्वास र आशा कहिल्यै मर्न दिदैनौं,’ उनले थपे । ‘क्यानले एक वर्षमा धेरै राम्रो कामहरु पनि गरेको छ । हामीले एक वर्षमा गरेका राम्रो कामको भन्दा नराम्रो कामको मात्र चर्चा बढी भयो । क्यानका लागि सबै खेलाडी एकै हुन् । क्यानले कसैलाई पनि काखा र पाखा गरेको छैन, गर्दा पनि गर्दैन र गर्नपनि दिने छैन,’ सिंहले भने, ‘हामी नेपाली क्रिकेट विकासकै लागि क्यानमा आएका हौं । क्रिकेट विकासबाहेक अन्य कुनै स्वार्थ छैन । हिड्ने क्रममा लड्न सकिन्छ । जुन विवाद अहिले आइरहेको छ त्यसमा आगमी दिनमा बोर्ड बैठकमार्फत सुल्झाउन प्रयास गर्ने छौं ।’

खेलाडी वर्गीकरणका क्रममा सन् २०१९ मा नियमित खेल खेलेका स्पिनर ललित नारायण राजवंशीलाई सम्झौता सुचिमा नै नरहेपछि चर्को आलोचना भएको थियो । ग्रेड सार्वजनिक भएको केहि समयमै राजवंशीलाई फोनमार्फत कोषाध्यक्ष सिंहले गल्ति सुधार्ने बताइसकेका छन् । ‘मैले ललितलाई फोन गरेर ग्रेडमा नाम आएन भन्दैमा नआत्तिनु भनेको थिएँ । भुलवस उनको नाम छुट्न गएको हो । आफ्नो खेलमा ध्यान दिइराख्नु । यस विषयमा वृहत छलफल गर्दै बोर्ड बैठकमार्फत समधान गर्ने जानकारी दिएको थिए’, सिंहले भने ।

यता ललितले पनि ग्रेडमा आफ्नो नाम नपरेपछि सिंह आफैंले सम्पर्क गरेको बताए । ‘सुरुमा नाम नसुन्दा म अचम्ममा परे । नियमित खेलिरहेको थिएँ । प्रर्दशन पनि भइरहेको थियो’, ललितले भने , ‘पछि कोषाध्यक्ष रोशन सिंहले फोन गर्नुभएको थियो । हामी मिलाएर लैजान्छौं । जे भयो भयो अन्यथा नलिनु भन्नु भएको थियो’, ललितले भने ।

प्रतिक्रिया