कोरोना प्रभावितद्वारा व्यवसायको लागि आवेदन

महेन्द्रनगर । कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो ।

प्रदेश सरकारले कोरोना महामारी प्रभावितमध्ये ९ हजारलाई तत्काल स्वरोजगार बनाउने भन्दै आवेदनका लागि २१ दिनको समयावधि दिएको थियो । बङ्गुर, बाख्रा, कुखुरा र माछापालनलगायतका व्यवसाय गर्न एक हजार दुई जनाले आवेदन दिएका छन् । पशु सेवा केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाले कञ्चनपुरका सबै पालिकामा आवेदन लिइएको बताउँदै सबै विवरण आउन बाँकी रहेको जानकारी दिए ।

‘पालिकामा आवेदन सङ्कलनको काम भइरहेको छ’, उनले भने, ‘आवेदन दिनेमा भारत र तेस्रो मुलुकबाट कोरोना प्रभावित भएर आएका बढी छन् ।’ कञ्चनपुरका नौवटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा कृषितर्फ व्यवसाय गर्न चाहनेले आवेदन दिएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले ज्ञान केन्द्रमा ३३१ कोरोना प्रभावितले व्यवसाय गर्न आवेदन दिएको बताए ।

‘नगरपालिकामा कृषितर्फको आवेदन सङ्कलन भएको छ’, उनले भने, ‘सबैतिरको विवरण सङ्कलन हुँदैछ ।’ सो केन्द्रमा आएका आवेदनमा तरकारी र च्याउ खेती गर्न धेरैले इच्छा देखाएका छन् । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन असोज ६ गतेसम्म समय दिएको थियो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउ खेती, मौरी, भेडा, बाख्रा, बङ्गुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुरा, हाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय र अन्य गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन यहाँका ८८ वटै स्थानीय तह र जिल्लाका कृषि र भेटेरिनरीमा आवेदन दिन लगाइएको बताए । ‘हाम्रो प्रदेशमा कतिले आवेदन दिए त्यो सबैतिरको विवरण सङ्कलन हुँदैछ’, उनले भने, ‘सबै विवरण आउन चार–पाँच दिन लाग्छ ।’

प्रतिक्रिया