अटेरी कर्मचारी : सम्पत्ति विवरण नै बुझाउँदैनन्

काठमाडौं । राष्ट्रसेवामा खटिएका सरकारी कर्मचारीले वार्षिक रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । भष्ट्राचारमा नमुछिउन् भनेर सम्पत्ति विवरण बुझाउनुपर्ने नियम बनाए पनि सरकारी कर्मचारीले अटेरी गर्ने गरेका छन् ।  सम्पत्ति विवरण नबुझाउनेलाई हुने कारबाही फितलो भएपछि कर्मचारीले यसतर्फ खासै ध्यान दिएका छैनन् । सम्पत्ति विवरण बुझाउन अटेरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार २ सय ८ सरकारी कर्मचारीलाई कारबाही गरेको छ । अख्तियारले त्यस्ता कर्मचारीलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरी तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउन भनेको छ । यसरी यी कर्मचारीबाट राज्यको खातामा ८ करोड ६० लाख ४० हजार रुपैयाँ थपिनेछ ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरणअनुसार प्रतिवेदनउपर बिहीबार आयोगमा बसेको बैठकले त्यस्ता कर्मचारीलाई कारबाहीको निम्ति सम्बन्धित मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिएको छ । सम्पत्ति विवरण नबुझाउनेमा नेता तथा कर्मचारी रहेका हुन् । कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् ।

साथै संघ, प्रदेश र स्थानीय तहमा मनोनीति राजनीतिक नियुक्ति पाएका व्यक्तिले सम्पत्ति विवरण नबुझाएमा गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरी थप छानबिन गरिने भएको छ । सम्पत्ति विवरण कसले भरे वा भरेनन् भन्ने अध्ययन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गर्दै आएको छ ।

अख्तियारको ऐनमा उल्लेख भएअनुसार, सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ । त्यसरी सम्पत्ति नबुझाउने राजनीतिक नियुक्ति पाएका व्यक्ति अब अख्तियारको फन्दामा परेका छन् । उनीहरूले सुरुमा नियुक्ति पाएको ६० दिनभित्र र हरेक आर्थिक वर्षको सुरुमा पनि सम्पत्ति विवरण बुझाउनै पर्ने कानुनी व्यवस्था छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिमा प्रधानमन्त्री, मन्त्री, मुख्य मन्त्री, प्रदेशका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि सबै पर्दछन् । साथै राजनीतिक तबरबाट मनोनीत र सल्लाहकारसमेत पदर्छन् । राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव हरिप्रसाद शर्माले तीन तहका राजनीतिक नियुक्ति पाएका व्यक्ति तथा कर्मचारी गरी जम्मा १७ हजार १ सय ८५ जनालाई कारबाहीका लागि आयोगमा पठाइएको जानकारी दिए ।

केन्द्रको विवरण अनुसार, संघीय तहका निजामती कर्मचारीतर्फ २ हजार ५ सय ४, नेपाल प्रहरीतर्फका १ सय ११, शिक्षक सेवातर्फका ७ हजार ६ सय २६ जना छन् । तीमध्ये १३ जनाको निधन भएको जानकारी राष्ट्रिय किताबखानाबाट प्राप्त भएको छ । त्यसैले शिक्षक सेवामा रहेका ७ हजार ६ सय १३ जनाले जरिवाना तिर्नुपर्ने भएको छ ।

यसैगरी, विदेशमा नेपाली सेनाका ४ सय ६० जनाले पनि विवरण बुझाएका छैनन् । उनीहरू पनि नियमानुसारको अवधिभित्र सम्पत्ति विवरण भर्ने र भराउने व्यवस्थाका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय पनि अख्तियारले गरेको छ । प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउने ५ सय ५४ जना सार्वजनिक पद धारण गरेका व्यक्ति छन् । उनीहरूलाई पनि जनही पाँच हजार जरिवाना गर्न र सम्पत्ति विवरण भर्ने, भराउने प्रयोजनका लागि प्रदेशसभाको सचिवालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।
स्थानीय तहका सम्पत्ति विवरण नबुझाउने पालिका तहका ४ हजार ४ सय ६३ जना छन् । साथै तोकिएको अवधिपछि विवरण बुझाउने चंखेली गाउँपालिकाका ३६ र जिल्ला समन्वय समिति तहका ३५ गरी कुल ४ हजार ५ सय ३४ जना सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका निकायका विकास, अस्थायी, करार आदिमा कार्यरत पदाधिकारी र कर्मचारीले पाँच हजार जरिवाना तिराउन र सम्पत्ति विवरण भराउन निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीले संघ, प्रदेश र स्थानीय तह जुन मातहतमा हो, त्यसैले जरिवाना उठाउनु पर्नेछ । साथै सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्त पाएका व्यक्तिले जरिवानाको तिर्नुका साथै सम्पत्ति विवरण भरी पठाउनुपर्नेछ । स्थानीय तहकाले पालिकामार्फत प्रदेशमा बुझाउनेछन् भने प्रदेश र संघले सो विवरण भरी राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्नेछ ।

प्रतिक्रिया