नेपालकै लामो सिद्ध–मकरीकोट पदमार्ग निर्माण जारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो । अपि हिमाल गाउँपालिका–५ को मकरीगाडदेखि वडा नम्बर ४ को मकरीकोट हुँदै खात्तीसम्म पुर्याउने गरी खुट्किलासहितको पदमार्ग निर्माण कार्य जारी छ । चिटिक्क स्लेट विच्छाइएको पदमार्गमा दायाँ बायाँ रेलिङ राखिएको छ । त्यही रेलिङमा पेन्टिङ र स्लेटहरु मिलाएर बनाइएको सिँढी यतिबेला सबैको आकर्षण बनेको छ ।

दार्चुलाको अपि हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग सिद्ध मकरीकोट पदमार्गको निर्माण कार्य हाल जारी छ । मकरीगाडबाट मकरीकोट चढ्न झण्डै तीन घण्टा समय लाग्थ्यो । त्यो पनि भिरालो बाटोमा ढुङ्गा खस्ने डर पनि उत्तिकै हुन्थ्यो । मान्छे हिँड्ने उही बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया पनि हिँड्ने भएकाले पूरै हिलो र धुलाम्य हुन्थ्यो । तर अहिले सिँढी निर्माणपछि पशु चौपायाका लागि अलग्गै र पदमार्गमा मान्छेलाई मात्र हिँड्न दिएपछि सफा सुग्घर अनि मनै लोभ्याउने भएको छ ।

सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा पदमार्ग निर्माण भइरहेको छ । पदयात्रा गर्न रुचाउने पर्यटकलाई लक्षित गर्दै सिद्ध मकरीकोट पदमार्ग निर्माण विगत दुई वर्षदेखि जारी छ । कूल आठ हजार २८२ खुडकिलासहितको पदमार्ग निर्माणको काम ठेक्कामार्फत गरिँदै छ । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको अपि हिमाल गाउँपालिकाका इञ्जिनियर रामचन्द्रसिंह ठगुन्नाले जानकारी दिए । यो सिँढी ३ किलोमिटर क्षेत्रसम्म निर्माण हुनेछ । अहिले ३०० मिटरमा थप सिँढी निर्माणाधीन छ ।

चालू आर्थिक वर्षमा रु ४८ लाख लागतमा नयाँ ठेक्का सम्झौताको तयारी भएको बताइएको छ । हालसम्म सिँढी निर्माणमा रु तीन करोड ३० लाख खर्च भइसकेको इञ्जिनियर ठगुन्नाले बताए । मकरीगाडबाट मकरीकोट चढ्ने सजिलो पदमार्गको रुपमा सिद्ध मकरीकोट पदमार्ग निर्माण गरिएको हो । ‘यो पदमार्ग ऐतिहासिक जतरसिंह राजाको इतिहाससँग जोडिएको र नेपालकै ऐतिहासिक पदमार्ग हो’ अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल (डीएन) ले भने, ‘सिद्ध मकरीकोट पदमार्गलाई थप आकर्षक बनाइने छ ।’

अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत आयोजना निर्माणस्थलकोे अवलोकनपछि सिद्ध मकरीकोट पदमार्ग चढ्न सकिन्छ । सिद्ध मकरीकोट पदमार्गका बीचबीचमा खानेपानी धारा, शौचालय, विश्रामस्थल बनाउने योजना रहेको अध्यक्ष मन्यालले बताए । जतरसिंह राजाले विश्राम गर्ने ठाउँमा विश्रामस्थल बनाइने र घोडा रोकिएको ठाउँमा घोडाको मूर्ति बनाइने उनले जानकारी दिए ।

यो वर्षबाटै पदमार्गको दायाँबायाँ वृक्षरोपण गरिँदै छ । अपि हिमाल गाउँपालिकाका स्थानीयलाई आफन्तको मृत्यु, जन्म हुँदा स्मरणस्वरुप सिँढीको दायाँबायाँ रुख रोप्न लगाइने योजना पनि रहेको छ । ‘पदमार्ग निर्माणअघि मकरीगाडदेखि मकरीकोट चढ्न निकै कष्टकर बाटो थियो’ स्थानीय ६८ वर्षीय गम्भीरसिंह धामीले भने, ‘पुरानो बाटो हुँदा सात ठाउँमा बसेर मकरीकोट चढ्न सकिन्थ्यो, अहिले दुई ठाउँमा आराम गर्ने बित्तिकै सहजै मकरीकोटमा पुगिन्छ ।’ वृद्धवृद्धाका लागि पनि हिँड्न सहज भएको उनले बताए ।

अहिले खुट्किला र रेलिङसहितको पदमार्ग निर्माणपछि पर्यटकलाई मात्र हैन, स्थानीयलाई समेत आवतजावतमा सहज भएको अपि हिमाल गाउँपालिका–४ का स्थानीय लक्ष्मणसिंह बोहराले बताए । पुरानो बाटो निकै जोखिम थियो । पहिरो र ढुङ्गा खस्ने डर हुन्थ्यो भने अहिले निर्माण गरिएको पदमार्गले यात्रुलाई सुरक्षित अनुभूति गराएको छ । हिँड्नलाई सजिलो हुने र समय पनि कम लाग्ने भएकाले यो पदमार्ग आकर्षक बनेको छ ।

अपि हिमाल गाउँपालिकासम्म जानेहरु सिद्ध मकरीकोट पदमार्गमा फोटो खिचाएर मात्रै आउने गर्छन् । दार्चुलाबाट अपि हिमाल पुगेका निरज धामी सिद्ध मकरीकोटका सिँढी चढ्नुको मज्जा बेग्लै रहेको बताए । एकतर्फबाट चमेलिया नदी र अर्कोतिर मकरीगाड खोलाको हावाका साथमा यी सिँढी उक्लिन खुब आनन्द आउँछ । दायाँबायाँ खोलाका झर्ना, तल पारि बगर खण्डेश्वरी सडक र निर्माणाधीन मकरीगाड जलविद्युत् आयोजनाको अवलोकन यो सिँढीबाट गर्न सकिन्छ । यसरी सिद्ध मकरीकोट पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण बनेको छ ।

यो ऐतिहासिक स्थानमा जतरसिंहको पुरानो राजदरबार थियो । अहिले सो दरबार भग्नावेशष बनेको छ । त्यस पुरानो दरबारको उत्खनन् पनि हुन सकेको छैन । गाउँपालिकाले पदमार्ग निर्माणसँगै मकरीकोटमा प्रवेशद्वार निर्माण गरेको छ । प्रवेशद्धारमै मन्दिर र विश्रामस्थलहरु पनि छन् । सिद्ध मकरीकोट चढ्ने बित्तिकै मकरीकोटबाट अपि हिमाल, साइपाल, जेठी बहुरानी जस्ता हिमशंङ्खलाको दर्शन गर्न सकिन्छ भने अपि हिमाल गाउँपालिकाको अधिकांश बस्ती सहजै देखिन्छ ।

निर्माणाधीन पदमार्गलाई खात्तीमा प्राकृतिक रुपमा निर्माण भएका तालतलैयाको दर्शन गर्ने गरी सिँढी खात्तीसम्मै पु¥याउने योजना रहेको अध्यक्ष मन्याल सुनाउनुहुन्छ । यस्तै नेपालकै उच्च क्षेत्र समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइमा खात्ती खेलमैदान छ । जहाँ हरेक वर्ष खेल हुने गरेका छन् । चारैतिर डाँडाकाँडा, र प्राकृतिक दृश्यहरुका काखमा रहेको यो खेलमैदान पनि उत्कृष्ट देखिन्छ ।

अध्यक्ष मन्याल भने, “उक्त सिँढी निर्माणको काम आफू जनप्रतिनिधि भएदेखिको सपना हो, जतरसिंह राजाको इतिहाससँग जोडिएको यो ठाउँमा पर्यटकलाई आकर्षित गर्न पदमार्ग अनिवार्य रहेको हो ।’ यो सिँढी निर्माण गरेर यस क्षेत्रलाई थप आकर्षक बनाउने योजना रहेको उनले सुनाए । – रासस

प्रतिक्रिया