पलपल बँचेको एक यात्रा

उमेरमा एक दुई वर्ष फरक भए पनि उनी र म खेल्ने धुलो एउटै, हिलो एउटै, परालको कुन्यू एउटै, बाँसको सुप्लो एउटै या भनौं प्रायः काम उस्तै उस्तै थिए । पात्रोका पन्नाहरू महिनैपछि फेरिन्थे, वर्ष दिनमा त पूरै पात्रो नै फेरिन्थ्यो तर हाम्रो सम्बन्ध कहिल्यै फेरिएन । घाँस बोक्ने डोको फेरिए, रुख फेरिए, नाम्ला फेरिए, जमिन खन्ने कुटो, कोदाली फेरिए, साहु फेरिए तर हाम्रो दुःख फेरिएन । लेकबेसी दिनहुँ गरियो तर विद्यालय र शिक्षकको नजिक कहिल्यै परिएन ।

सदैव घाँस, दाउरा, हलो, कुटो, कोदाली, उकालीओराली, खेतबारी, बाख्रा, भैंसी, आमाबाबु, छोराछोरी भन्दै जीवनका पाँच दशक बितिसकेछ । मिठो खान, राम्रो लगाउन, घुम्न जान, रमाउन कहिल्यै समय छुट्टाइएन् । अब त छोराछोरीले घुमेको डुलेको, मिठो चिज खाएको देखेर जिन्दगी त यत्तिकै बिताइएछ भनेर पश्चतापको आगो ताप्नुबाहेक केही बचेनछ । हामीले दुःख गरेर कमाएको पैसाले छोराछोरी, नातीनातिनाहरूलाई मिठो खान, घुम्न जान, दिनहुँ लुगा फेरी–फेरी लगाउन पुग्दोरहेछ भने हामी बुढाबुढीलाई पनि पक्कै पुग्छ भनी गतवर्ष पोखरा, चितवन, लुम्बिनी घुमियो, निकै रमाइलो भएको थियो । पैसाले पुग्दो त रहेछ नि भाञ्जा । हामीले धेरै लोभ ग¥यौं र नपुगेको हो रहेछ । आफ्नो खुट्टाले काम गरुञ्जेल घुम्न मन लागेको ठाँउहरू घुम्नु पर्छ, खान मन लागेको खानुपर्छ झैं लाग्छ भाञ्जा मलाई त आजभोलि ।

हामीले थाहा पाउने बेलादेखि उ त्यो घुम्टेको डाँडाले हामीलाई हेरिरहेको छ र हामी पनि हेरिरहेका छौं । त्यहाँ सिद्ध भैरवको मन्दिर पनि छ रे ! तिनै सिद्धले हामीलाई दुःखमा साथ दिन्छन् भन्नुहुन्थ्यो आमा बाले । एक पटक त जानै पर्छ भाञ्जा । त्यस डाँडाबाट हटिया, दुधिलाभाटी, घोँडाबाँधे, ताराखोला, पाण्डवखानी साथै नजिकैका छिमेकी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची पनि देखिन्छ रे ! त्यहाँबाट हेर्दा त सूर्य जमिनबाट उदाएर जमिनमै अस्ताउँछ रे, त्यसैले त मानिसहरू धेरै टाढा टाढाबाट घुम्टे चढ्न, पूजा गर्न निकै खर्च गरेर आउँछन् तर हामी कसैले घुम्टे गएको छौ भनेर सोध्दा पनि निरीह मुन्टो हल्लाउन बाध्य छौं । त्यसैले पनि जानै पर्छ । यही चैत्र मसान्तमा जाउँ भनेपछि दुवै उत्साहित भई सहमत भए ।

वर्षेनी बैशाख सक्रान्तिको दिन घुम्टेमा कार्यक्रम तथा पूजापाठ हुने भएकोले सोही दिनमा पुग्ने गरी अघिल्लो दिन चैत्र मसान्तमा गई बैशाख १ गते फर्किने योजना बन्यो । हाम्रो इच्छा थियो, मन लागेको खाने, प्रशस्तै तस्बिरहरू खिच्ने भएकाले मैले नयाँ सामसुङको मोबाइल किनें । उतै घुम्टेको काखमा गएर एकरात बिताउने भएकाले विस्तारै बिहानको खाना खाएर यात्रा गर्ने पूर्वसल्लाह अनुसार भाञ्जा हाम्रो घरमा आउनुभयो ।
बिहानदेखि नै आकाश स्पष्टसँग खुलेको थियो । बिहानै सूर्यका किरणले घुम्टेको टुप्पोमा पहिलो पाइला राखेर धर्ती टेकेका थिए भने विस्तारै विस्तारै टेउवा, सर्दाखेत, मजुवाफाँट, हटिया हुँदै हाम्रो घरसम्म सूर्यका किरणहरू आइपुगे । लाग्थ्यो हामी सिद्ध भैरवलाई भेट्न जाने योजना भएकोले भगवानले पनि मौसम अनुकूल पारिदिएका हुँदा हुन् । यस्तै राम्रा कुराहरू सोच्दै राम्रै लुगामा चिटिक्कपरी घरबाट उत्साहसहितको हँसिलो मुहार लिएर ओराली लाग्यौं । बाटोमा भेटेका मानिसहरूसँग कुरा गर्दा रमाइलो गर्न घुम्टे हिँडेको भन्दै अगाडि बढिरह्यौं । हटिया बजार, देसिपुल, मजुवाफाँट, राजाको पुल, हरिचौर बजार, कौलेनी हुँदैै मिठामिठा, रमाइला वार्तालाप गर्दै उकाली चढिरह्यौं । आफ्नो दैनिकीलाई विश्राम दिएर गरिएको यात्रा अविस्मरणीय बन्दै थियो ।

सूर्यको यौवनको प्रकाशले भने हामीलाई कायल बनाएको थियो । अलिकति पाइला अगाडि बढायो पसिना पुछ्यो बस्यो गर्दै अगाडि बढिरह्यौं । त्यो बैंसालु सूर्यको अगाडि हावाको पनि केही चलेन, रुखका पातहरू पनि चर्को गर्मीले टिलपिल–टिलपिल गरेर ओइलिँदै थिए भने रुखका हाँगामा सितलिएको न्याउली चरीले विरहको गीत गाइरहेको थियो । बेलाबेलामा सितल पवनको पर्खाइमा रुखको छहारीमा बस्थ्यौं तर रुखको छहारीले दिने सितलताभन्दा तातेको जमिनले दिने बाफ बढी भएकाले सितल अनुभूति हुनै सकेन् । बाटोमा भेटिने पानीका धाराहरू, रुखका छहारीहरू हुँदै हालको अन्तर्राष्ट्रिय खुला मूर्तिकला संग्रहालय रहेको स्थान टेउवामा पुगियो ।


थाकेको शरीर, खलखली बगेका पसिनाले केही समय विश्राम लिए । मौसम सफा भएकाले त्यहाँबाट देखिने सम्पूर्ण दृश्यहरू दृश्यपान गर्दै मनलागे जति तस्बिरहरू लियौं । केही समय त्यही सुस्ताएर हामी गन्तव्यतर्फ अगाडि बढ्यौं । उकाली लाग्दै गर्दा बाटोको दायाँ बायाँ काँडाहरू हामीलाई कोपर्न तम्तयारजस्ता देखिन्थे ।  चर्को घामले हामीलाई पछ्याइरहेको थियो । सायद उ हामीलाई गलाएर यात्रा भंग गर्न चाहन्थ्यो तर हामीहरू रुमालले पसिना पुछ्दै हातमा लठ्ठी बोकेर तीनखुट्टे भई अगाडि लम्किरह्यौं । धेरै नै उचाइमा पुगिएछ क्यारे चराचुरुङ्गीको आवाज पनि सुनिन छाडिसकेका थिए । अग्लो ठाँउमा उम्रिएका बिरुवाहरूलाई अग्लै हुनुपर्ने भएकाले होला रुखहरू निकै अग्लिएर आकाश छुँदैछन् झैं देखिन्थे । यात्राकै क्रममा ठाउँ ठाउँमा विभिन्न आकृति बनेर ढुङ्गाहरू, ढलेका काठहरू उभिएका थिए । त्यो जंगल साँच्चै नै कलात्मक थियो ।

सूर्य र हाम्रो रफ्तारको प्रतिस्पर्धामा सूर्य चुक्यो । आकाशमा कालो बादल हुँडालिएर आयो । हामीले सितल अनुभव गरी पाइला अगाडि बढाइरह्यौं । एकाएक आकाशबाट पानी प¥यो । छाता झिकेर ओड्यौं । तत्कालै असिनाको बज्रपात भयो । हामीहरू अत्तालियौ, के गर्ने, कसो गर्ने असिनाले चुट्न थालिसकेको थियो । दायाँबाँया हे¥यौं टाउको मात्र अटाउने ढुङ्गाको चेप भेटियो ओडार भेटिएन । दुवै जनाले त्यही चेपमा टाउको घुसाएर जीउको पछाडि छाता ओडायौं तर असिनाको वेग छाताले छेक्न सकेन् । शरीर नै हाउ हाउ गर्ने गरी दुख्न थालिसकेको थियो तर असिना वर्षिन छाडेन । ढुङ्गाले हातमा थिच्दा हुने दर्द जसरी नै टाउकोबाहेक अरु शरीर दुख्न थाल्यो तर असिना पर्नेक्रम रोकिएन । घुम्टे आएर प्राण त्याग गर्न लेखेको रहेछ भन्दै भगवानसँग जीवनको पुकार गर्न थाल्यौं । भगवानले हाम्रो पुकारसहितको विलाप सुनेछ कि पूरै वातावरण अँध्यारोे भएर परेको असिनापानी केही कम भयो । अब त बाँचिन्छ कि भनेर लामो स्वास फे¥यौ । ढुङ्गाको चेपबाट टाउको झिकेर बाहिर हेर्दा असिनाले पूरै जमिन सेताम्य थियो । एकछिन पछि घाम त लाग्यो तर अगाडि कसरी जाने धर्मसंकटमा प¥यौं । दुई खुट्टा मात्रै अट्ने साँघुुरो बाटोमा करिब पाँच इञ्च जति बाक्लो असिना लम्पसार परेर निदाइरहेको थियो । त्यो असिनामा चिप्लिएर एकजना मात्रै पनि लड्यौं भने आँखा चिम्लिनु सिवाय अरु केही थिएन । तल त्यस्तो अनकन्टारको छाँगो थियो, जहाँबाट मानिसको हाडखोर खोज्न जाने सम्भावना नै थिएन । कस्तो कुदिनमा यात्रा गरिएछ भनी पश्चतापका शब्दहरू ओकलिरह्यौं ।

अब हामीलाई अगाडि बढ्न जति गाह्रो छ पछाडि फर्किन पनि त्यति नै कठिन छ । लठ्ठीले असिना पन्छाउँदै भित्तामा घाँस समाउँदै, मुटुको धड्कन सम्हाल्दै अगाडि बढ्यौं । चर्को घाम लागेकाले ती असिना टल्किएर बेला–बेलामा आँखाका ज्योति नै गुमेजस्तो तिरिमिरी बनाउँथे । करिब एक घण्टा हिँडेपछि असिना पग्लियो । त्यसपछि मात्रै आनन्दको लामो स्वास फेर्यौं । एकछिन विश्राम गरी पातलो हलुका झोलाबाट १÷१ वटा चाउचाउ निकालेर खायौं अनि फेरी पाइलाहरू अगाडि बढायौं ।

त्यो सुनसान जंगलमा हामीले कुरा गरिरहेको ती रुखहरूले सुनिरहेका छन् र उनीहरूलाई चित्त बुझेमा ताली पिटिरहेको आभास हुन्थ्यो । ती जंगलका रुखहरूले साउती गर्दै हामी हिँड्दा ती बुढाहरू हिँड्न नसकेका भनी एकोहोर हेरी गिज्याइरहेझैं लागिरहेको थियो ।
पथ्थरै पथ्थरको त्यो उकालीमा हिड्दा इजिप्टको पिरामिड चढेजस्तै महशुस भइरहेको थियो । हिड्न खुट्टालाई दुःख भए पनि त्यहाँबाट देखिने अलौकिक दृश्यले खुट्टा पनि हल्का भई पाइलाहरू चालिरहेका थिए । मैले ती दृश्यहरूलाई आँखामा समेट्न हदैसम्मको प्रयास गरेँ तर ती मनमोहक सबै दृश्यहरू अटाउनै नसकिने गरी फैलिएका थिए ।

उभिएर हेरिरह्यौं, तृप्त भएपछि पाइला अघि बढाउँला भन्यौं तर मन अघाउनै मानेन बाध्य भएर पाइला चाल्यौं । जतिमाथि गयो उति राम्रा दृश्यहरू देख्न पाइने भएकाले पनि हावा भरेको बेलुन जसरी नै मन उडिरहेको थियो । त्यहाँबाट देखिने तलको जंगल थुंगाथुंगा भएर झकमक्क फुलिरहेको थियो । आहा ! कति राम्रो, कति मनमोहक भन्दै उकालो चढ्दै गयौं । पहाडको माथि पुगेपछि केही समथर भूमि रहेछ । म आश्र्चाय मान्दै सोच्दै थिएँ, प्रकृतिले पनि कस्तो आनन्ददायी वरदान दिएको होला । त्यहाँको समथर भूमि आफैमा एक सुन्दर रिसोर्ट नै थियो । केवल त्यहाँ खानेकुराको मात्र कमी थियो । त्यो समथर ठाउँमा पूरै हरियो मुलायम गलैंचा बिछ्याइएको थियो । त्यतिबेला हामीले सुनेको स्वर्ग यही होला भन्ने आभास भयो । तिनै गलैंचाको बाटो भएर सिद्ध भैरवको मन्दिरतर्फ लाग्यौं । गलैंचाको बाटोमा चालेको अन्तिम पाइलापछि प्रस्तर नै प्रस्तरको बाटो भएर उकालो चढन थाल्यौ । म अचम्ममा परें, त्यतिका ठूला सुन्दर ढुंगाहरू कहाँबाट आए होलान् । ती प्रस्तरहरूका बिचबिचमा ठूलाठूला भोका ओडारहरू खाउँला जसरी तन्किएर, चेप्टिएर बसेका थिए । कुनै कारणवस ती ढुङ्गाहरूमा चिप्लिएर खस्ने हो भने हाडखोर पनि भेट्न सकिने छैन झैं लाग्थ्यो । सुनेको थिएँ, ती ओडारहरू ठूलाठूला पाटेबाघहरूको बासस्थान हो ।

घुम्टेको शिरमा सिद्ध र भैरवका छुट्टाछुट्टै मन्दिर रहेछन् । दिल खोलेर पूजा गरियो तर त्योभन्दा पनि बढी प्रकृतिसँग खुब मित्रता बस्यो, रमायौं, तस्बिर खिच्यौं । साँझ पर्न आँटेको थियो तर त्यहाँको मनोरम दृश्यले हामीलाई चुम्बकले झैं तानिरहेको थियो । चाहेर पुग्ने वा सकिने भए क्षितिजमा विलिन हुन लागिरहेको सूर्यलाई एक दिनका लागि फिर्ता बोलाउने मन थियो तर प्रकृतिको नियम बाबुले छोरालाई लगाएको जस्तो सजिलो कहाँ हुन्थ्यो र भएन । सूर्य विस्तारै विस्तारै बामे सर्दै क्षितिजमा हरायो ।

झमक्क अँध्यारो भएपछि टर्चलाइट बाल्दै लठ्ठीको सहाराले मन्दिरलाई पछाडि छोडी ओराली झ¥यौं । तल झर्दै गर्दा मानिसहरूको भिड देखियो । त्यो ठाउँ गोठचौर रहेछ । मानिसहरू बैशाख १ गते घुम्टे जानका लागि पहिलो रात त्यहीँ बास बस्दा रहेछन् । त्यहाँ पुग्दा एक जना अर्धबैंसे आइमाइले तीनवटा ढुङ्गाको सहायताले अगेनो बनाई चिया र सेल पकाइरहेको देख्यौं । यातायातको असुविधाको कारणले धेरै थरीका खानेकुराहरू थिएनन् भने भएको कालो चिया ४० रुपैयाँ प्रतिकप र सेलको मूल्य ५० रुपैयाँ प्रतिगोटा निर्धारित थियो । त्यहाँ पैसाको मूल्यभन्दा धेरै गुणा महँगो भएर भोक उभिएको थियो । हामी दुई साथीले कालो चिया १/१ कप र सेल २÷२ वटा खायौं । त्यो पनि भाग्यमानीले मात्रै खान पाउने रहेछन् । खुसी लाग्यो, तिनै भाग्यमानीमा हामी पनि समेटिएछौं ।

त्यहाँ तीन वटा गोठबाहेक केही थिएन्, तिनै गोठमा मानिसहरूको भिड यस्तो थियो कि खुट्टासम्म पनि राख्ने ठाउँ थिएन । दिनमा पानी परेको र रातमा शीत परिरहेकोले चिसो क्रमशः बढ्दै थियो । एक ठाउँमा आगो फुकेका त थिए तर त्यो पूरै आगो एक्लै ताप्दा पनि शरीर नतात्नेझैं चिसो भएको थियो । हामी पनि आगो ताप्ने उत्कट चाहानाले आगोतर्फ लाग्यौं तर आगो र हाम्रो दुरी करिब तीन मिटरभन्दा नजिक हुनै सकेन् । त्यही टाढाको आगो हेरेरै पनि केही समय त तातो महशुस गरियो तर खाएको महशुस गरेर के मान्थ्यो पेटले भोक लागि हाल्दोरहेछ । शरीर काँप्न थाल्यो । गोठभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन् । बाहिर आगो फुकेको ठाउँमा हेर्नलाई मात्र ठाउँ छ ताप्नलाई छैन् । अर्को ठाउँमा आगो फुकुँ दाउरा दिनभरको पानीले निथु्रक्क भिजेका छन्, बल्दैनन् । यही छटपटाहटमा केही घण्टाहरू त बिते । निकै चिसो भएकोले तातो चियाले तताउनु प¥यो भनी चिया पिउन गएको चिया सकिएछ झनै जाडो महशुस भयो । घर फर्किउँ त्यो मध्यरातमा बाटो देखेको छैन् । बाटो नै देखेको भए पनि बाघले खान्छ भनी मानिसले तर्साएका थिए । कसैलाई जाउँ भन्यो, रातमा हिँड्नु हुन्न जसोतसो बसौं भन्छन् । ठूलो संकटमा परियो, चिसोले झन्–झन् आक्रमण गर्दै थियो ।

भिडबाट एक जनाले मसँग घर फर्किने कोही छ ? मैले बाटो देखेको छु जाने भएसँगै जाउँ भन्यो । के खोज्छस् काना आँखो भनेझैं भयो । हामी उसको पछि लागेर जाने त भयौं तर उसले टन्न रक्सी पिएको रहेछ । खुट्टा ठेगानमा थिएनन् । यसको पछि लाग्दा झन् ज्यानमारामा त परिने होइन् भन्ने पिरलो परिरह्यो । उ अघि–अघि हामी पछि–पछि गर्दै हिड्यौं । उ ठाउँ–ठाउँमा लड्दै उठ्दै गर्दै थियो तर उ लड्दा कुनातर्फ लड्थ्यो अनि घाँस समाएर उठ्थ्यो । यसरी अगाडि बढिरहेका थियौं ।

हामी तल झर्नुपर्ने उसले कतिबेला माथि कतिबेला तल झार्छ । यसले बाटो देखेको छैन् रै’छ झैं पनि लाग्यो कहाँ पु¥याउने हो, कहाँ पु¥यायो हामीलाई केही थाहा थिएन् । मनमा यिनै र यस्तै ज्वारभाटाहरू उम्लिरहेको थियो तर हामीसँग उसको पछि लाग्नुको अर्को विकल्प पनि थिएन् । यसरी उकाली ओराली गर्दै बिहानको करिब ३ बजेको हुँदो हो मलाई खुब निद्राले च्याप्यो । हिड्नै सकिन । मैले साथीहरूलाई भनेँ एक्कैछिन्, मात्र ५÷१० मिनेट सुतौं र हिँडौंला भनेको उसले यहाँ बाघ आउँछ, यतिबेला बाघ हिँड्ने बेला हो ।

सर बाघले भेट्यो भने हामीलाई बाँकी राख्दैन जाउँ भन्दै उ अघि बढिरह्यो भाञ्जा र मैले एकैछिन् सुतेर जाउँला भन्ने निर्णय गरी साँघुरो बाटोमा कान्लातिर टाउको र भिरतर्फ खुट्टा गरेर सुत्न पल्टिएका मात्रै के थियौं बाघ करायो घर्र्र् घर्र्र््र घुर्र््ररर्… लौ अब खायो भनी डराएर हामी तीनै जना एकै पटक चिच्च्याएछौं । त्यो रक्सी पिउने साथी केही अगाडि मात्रै गएकोले डराउँदै चिच्च्याउँदै हामी भएनेर आयो । हामी डरले झन् जोडजोडले चिच्च्यायौं करायौं । हामी एकैसाथ चिच्च्याउँदा बाघ पनि डरायो सायद ठूलो आवाज निकालेर करायो र झ्वाम्म हामफालेर तल गएको आवाज सुनियो । अब बाँचियो भनि गहिरो स्वास फे¥यौं । मेरो निद्र्रा कहाँ हो कहाँ भाग्यो साथीको रक्सी उत्रियो । लगलग काँपिरहेको शरीरलाई केही ढाडस र सान्त्वना दिँदैै हामीहरू यहाँ बसिरहे अर्को बाघ आएर खान्छ भनी कराउँदै चिच्याउँदै ओराली झ¥यौं ।

बिहान करिब ५ बजेतिर ज्यान जोगाएर टेउवामा आइपुग्दा उज्यालो भएको थियो । रातभरको यात्राको साथी हरिचौर बजारमा बस्यो । हामी मामा भाञ्जा हटिया हुँदै घर फर्कियौं र डराएकै स्वरमा परिवारमा दैनिकी सुनायौं ।

प्रतिक्रिया