‘शून्य’ सार्वजनिक

काठमाडौं । सनम वैरागको निर्देशन रहेको छोटो चलचित्र ‘शून्य’ सार्वजनिक भएको छ । उक्त चलचित्रमा बेलायत बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको छ । चलचित्रमा कोरोना महामारीले निम्त्याएको सकसपूर्ण अवस्थालाई चित्रण गरिएको छ । मार्मिक र भावनात्मक रूपमा कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा प्रवास रहेका नेपाली ‘कोभिड १९’ का कारण जन्मभूमि फर्कन नसकेको पीडालाई देखाउने कोशिस गरिएको छ । भिजन संसारको प्रस्तुति, कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईले छायांकन गरेको उक्त चलचित्रको सबटाइटल ज्ञानेन्द्र रावतको रहेको छ । चलचित्रमा स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

वैश्विक महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले परदेशमा रहेका थुप्रै नेपाली पीडामा छन् । परदेशमा पोखिएको नेपालीको पीडालाई मार्मिक र यथार्थपरक रुपमा यस चलचित्रमा देखाउने कोशिस गरिएको छ । बेलायतमा बनाइएको यो छोटो चलचित्र करिब ९ मिनेट लामो छ ।
बेलायतलाई कर्मथलो बनाएका अभिनेता ध्रुव दत्तले चलचित्रमा जीवन्त अभिनय गरेका छन् । चलचित्रमा बेलायतमा संघर्ष गरिरहँदा एक्कासी नेपालबाट आमा बितेको खबर फोनमार्फत आएपछिको बिलौनार्ला उधिनिएको छ । सो घटनाको जानकारी पाएपछिको पीडा, लकडाउनले गर्दा नेपाल जान नपाउँदाको छटपटी र आमाले भनेका शब्दको गुञ्जनले पिरोल्लिएको विषय चलचित्रमा छ । कोरोनाको विषयमा केन्द्रित रहेको यस छोटो चलचित्रले विदेशमा बस्ने धेरै नेपालीको कथा र व्यथाको प्रतिनिधित्व गरेको छ । ‘शून्य’ लाई भिजन संसार प्लसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया