शुक्र ग्रहको बादलमा जीव हुनसक्छ ?

एजेन्सी । शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे वैज्ञानिकबीच चर्चा सुरु भएको छ । त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन् । त्यो ग्यास फस्फिन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रोजनका तीन वटा परमाणु मिलेर बन्छ ।

पृथ्वीमा पेन्ग्विनको पेटमा वा कम अक्सिजन हुने धापमा बस्ने सूक्ष्मजीवले फस्फिन बनाउँछन् । यो ग्यास कारखानामा उत्पादन गर्न सकिन्छ । तर, शुक्र ग्रहमा कुनै कारखाना छैन र त्यहाँ पेन्ग्विन हुने कुरै भएन । त्यसोभए शुक्रको वायुमण्डलमा सतहबाट ५० किलोमिटर माथि यो ग्यास किन ? कार्डिफ युनिभर्सिटीका प्राध्यापक जेन ग्रिभ्स र उनका सहयोगीहरू यसमा घोत्लिरहेका छन् ।

उनीहरूले शुक्रमा देखिएको फस्फिन ग्यासबारे आफ्नो अध्ययन र त्यो प्राकृतिक रूपमा बन्न सक्ने सम्बन्धमा अनुसन्धान गरेर नेचर एस्ट्रनमीमा भर्खरै एउटा शोध प्रकाशन गरेका छन् । तर अहिले उनीहरू तीन छक्क परेका छन् । यो कुरा उनीहरूले विस्तृतमा बताएका छन् ।

शुक्र ग्रहबारे हामीले जे थाहा छ र त्यहाँ जेजस्तो अवस्था छ त्यसको आधारमा भेटिएको जति मात्रामा फस्फिन ग्यास त्यहाँ कसरी उत्पन्न भयो भन्नेबारे कसैले भन्न सकेको छैन । यसको अर्थ त्यहाँ जीवन हुनसक्ने सम्भावनामा विचार गरिनुपर्ने उनीहरूको भनाइ छ ।

‘मेरो शोध जीवनभरि म यो ब्रह्माण्डमा अन्यत्र पनि जीवन छ कि भनेर खोज्न इच्छुक रहेँ । त्यसैले यो कुराको सम्भावनाले मात्रै पनि म चकित छु,’ प्राध्यापक ग्रिभ्सले भने । ‘तर हामीले कुनै कुरा अध्ययन गर्न छुटायौँ कि भनेर अन्य मानिसका कुरा सुन्न चाहन्छौँ । त्यसैले हाम्रो लेख र तथ्यांक सबैका लागि निःशुल्क उपलब्ध छ । विज्ञानले यसरी नै काम गर्छ ।’

प्राध्यापक ग्रिभ्सको टोलीले सुरुमा अमेरिकाको हवाईमा रहेको जेम्स क्लेर्क म्याक्स्वेल टेलिस्कोपबाट शुक्रमा फस्फिन ग्यास गरेको पत्ता लगाए र त्यसपछि त्यो कुरालाई चिलेमा रहेको अटाकामा लार्ज मिलिमिटर र सबमिलिमिटर अरेबाट प्रमाणित गरे ।
शुक्रको वायुमण्डलमा त्यो ग्यासको मात्रा कम छ । एक करोड अंशमा १०–२० अंश मात्रै । तर त्यहाँको अवस्थाका हिसाबले त्यो धेरै नै भएको वैज्ञानिकहरूको बुझाइ छ । पृथ्वीबाहिर जीवनको कुरा गर्दा शुक्रमा हुनसक्ने सम्भावनाको खासै कुरा हुँदैन । पृथ्वीसँग तुलना गर्दा शुक्र नर्क हो ।

यसको वायुमण्डलमा ९६ प्रतिशत कार्बन डाईअक्साईड छ जसको ग्रिनहाउस असरले त्यहाँको जमिनको तापक्रम भट्टीमा जस्तो चार सय डिग्री सेल्सीअसभन्दा माथि हुन्छ । शुक्रमा पुगेका अन्तरिक्ष अध्ययन गर्ने उपकरण केही मिनेटमै ध्वस्त भएका छन् । तर, त्यो जमिनको ५०–६० किलोमिटरमाथि आकाशमा भने तापक्रम हाम्रो लागि सामान्य छ । त्यसैले शुक्रमा जीवन छ भने त्यही स्थानमा मात्र सम्भव छ ।

त्यहाँको बादल बाक्लो र ७५ देखि ९५ प्रतिशत सल्फ्युरिक एसिडले बनेको छ जुन पृथ्वीमा पाइने जस्तो जीवको कोषका लागि विनाशकारी विष हो । अमेरिकी जीववैज्ञानिक डा. विलियम बेन्स पनि यो अध्यनमा सहभागी भएका थिए । उनले त्यो ग्यास त्यहाँ ज्वालामुखी फुट्दा वा बिजुली चम्किँदा उत्पादन भएको हो कि भनेर अध्ययन गरे । तर, त्यति मात्रामा फस्फिन ग्यास बनाउन ज्वालामुखी वा बिजुली १० हजार गुना शक्तिशाली हुनुपर्ने निष्कर्षमा उनी पुगे ।

त्यहाँको मात्रामा रहेको सल्फ्युरिक एसिडबाट कुनै जीवित कोषलाई जोगिन कि जीवरासायनिक संरचनामा ठूलो परिवर्तन भएको हुनुपर्छ कि अन्य कुनै ढाल सिर्जना भएको हुनुपर्छ । ग्रिभ्सको टोलीले शुक्र ग्रहमा जीव पत्ता लागेको दाबी गरेको छैन । उनीहरूले खाली यस विषयमा सम्भावनाबारे विचार गर्नुपर्ने बताएका छन् ।
अक्सफर्ड युनिभर्सिटीका डा. कोलिन विल्सन सन् २००६ देखि २०१४ सम्म युरोपियन स्पेस एजेन्सीको शुक्र अन्वेषण योजनामा काम गरेका थिए । उनले ग्रिभ्सको अनुसन्धानले सो ग्रहको अध्ययनमा नयाँ आयाम थप्ने बताए ।

‘यो साँच्चिकै उत्सुकताको कुरो हो र त्यो ग्यास त्यहाँ नभएकै भए पनि यसले नयाँ तथ्यहरू पत्ता लगाउनेछ,’ उनले भने । वेस्टमिन्स्टर युनिभर्सिटीका प्राध्यापक लेविस डार्ट्नेलले भने मंगल अथवा बृहस्पतिका चन्द्रमाहरू वा शनि ग्रहमा जीवन हुने बढी सम्भावना रहेको बताए ।

यस विषयमा थप जानकारी पत्ता लगाउन शुक्रको वायुमण्डल अध्ययन गर्ने अन्वेषण नै पठाउनुपर्छ । नासाले हालै वैज्ञानिकहरूलाई सन् २०३० को दशकमा सम्भावित अन्वेषण गर्न योजनाको प्रारूप तयार पार्न भनेको छ । तर, त्यो एकदमै खर्चिलो काम हो । नासाले एक प्रकारको बेलुनलाई शुक्रको वायुमण्डलमा छोड्ने खालको योजना बनाउन भनेको छ ।

‘सन् १९८५ मा रुसले भेगा बेलुनबाट यस्तो गरेको थियो’, टोलीमा रहेकी प्राध्यापक सारा सिगरले भनिन् । ‘बेलुनलाई सल्फ्युरिक एसिडबाट बचाउन टेफ्लनले छोपिएको थियो र त्यो केही दिन त्यहाँको आकाशमा रहेको थियो ।’

प्रतिक्रिया