राष्ट्रिय प्रतियोगिता गर्न गाह्रो छ : सिलवाल

काठमाडौं । साउनमा खुकुलो भएको अघिल्लो चरणको बन्दाबन्दीपछि नेपाली खेलकुद लयमा फर्किने आशा गरिएको थियो । केही खेलले प्रशिक्षणसमेत सुरु गरेका थिए । तर, बढ्दो कोरोना संक्रमणको संख्यालाई ध्यानमा राख्दै सरकारले धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सम्पूर्ण गतिविधि पुनः ठप्प भए । अन्य क्षेत्र अलिअलि सहज भए पनि खेलकुद भने पछि प¥यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य(सचिव रमेशकुमार सिलवालले नेपाली खेलकुद सुरु गर्न अझै केही समय पर्खिनुपर्ने बताउँछन् । ‘यसअघि हामीले सुरुको फेजमा खेलाडीलाई सेल्फ प्रशिक्षणमा ध्यान दिनुस् भनेका थियौं । त्यसपछि जुमको माध्यमबाट प्रशिक्षण सुरु गर्यौं । पहिलो चरणमा केही सहजको वातावरण भएपछि हामीले केही व्यक्तिगत विधाका खेलका राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गरेका थियौ,’ उनले भने, ‘तर, पछिल्लो समय पुनः कोरोना संक्रमणको जोखिम बढ्न थाल्यो । त्यसपछि सुरु गरेका प्रशिक्षण पनि स्थगित ग¥यौं । त्यसबीचमा विभागीय टोलीले समेत प्रशिक्षण सुरु गरेका थिए ।’

उनले सरकारको निर्णय मान्नुपर्ने भएकाले तत्काल नेपाली खेलकुदबारे भन्न नसकिने बताए । उनले हाल कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदा खेलकुद नियमितका लागि हतार नभएको बताए । ‘हाल नेपालका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता छैनन् । त्यसैले यस्तो अवस्थामा राष्ट्रिय प्रतियोगिता गर्न पनि गाह्रो छ,’ उनले भने, ‘हामीले सरकारको निर्णय पनि मान्नैप¥यो । केही व्यक्तिगत विधाका खेल र विभागीय टोलीसँग यस विषयमा छलफल पनि भइरहेको छ । अवस्था अलि सहज भयो भने हामी प्रशिक्षण पुनः सुरु गर्ने तयारी गरिरहेका छौं ।’
अहिले कुनै पनि संघले तत्काल प्रशिक्षण सुरु गर्छु भन्दा त्यति सहज नहुने उनको भनाइ छ । कोरोना संक्रमण बढेका बेला कुनै खेलाडीलाई संक्रमण देखिए पूरै खेलकुद क्षेत्रमै असर पर्ने भएकाले तत्काललाई प्रशिक्षण मात्रै भए पनि सुरु नगरेको सदस्य–सचिव सिलवालले बताए । नेपाली खेलकुद हरेक क्षेत्रबाट उपेक्षित रहेको अवस्थामा यस बेला सरकारको पनि अन्तिम प्राथमिकतामा रहेको उनको बुझाइ छ ।

प्रतिक्रिया