ललितलाई काठमाडौं ल्याइयो

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।

ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको थियो । थप उपचारको लागि उनलाई ग्रान्डीमा ल्याउन लागिएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको छ । उनको खुट्टा र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उपचारमा संलग्न हुने सम्पूर्ण चिकित्सक एवंम मेडिकल टिमलाई उपचारमा सक्रिय भएर सहयोग गरिदिन अनुरोध गरेका छन् । चन्दले श्रीघ स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ज्ञानेन्द्रले सम्बन्धित सरकारवाला निकायको गम्भिर ध्यानआकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया