गीतमा लैंगिक विभेद

काठमाडौं । कोरोना संक्रमणका कारण चलचित्र क्षेत्रमा निर्माण तथा उत्पादनका काम ठप्प प्रायः छन् । काम नै ठप्प भएपछि यतिवेला कलाकर्मी फुर्सदिला भएका छन् र केही एकापसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । यसमा केही मुद्धा महिला यौन एवं लैंगिक हिंसासँग सम्बन्धित छन् ।

कोरोनाका कारण लगाइएको बन्दाबन्दीले यसवेला समाजमा पनि लैंगिक हिंसाको घटना बढिरहेका समाचार आइरहेका छन् । बन्दाबन्दीको समयमा घरेलु हिंसाका घटना बढिरहेकाले समाजमा लैंगिक विभेदको अवस्था विकराल बन्दै गएको छ । कोरोना कहरका बीच विभिन्न गायकले गीतका भिडियो सार्वजनिक गरेका छन् । जसमा लैंगिक विभेदका विषयलाई समेत उठाइएको छ । महिला हिंसाविरुद्ध आवाज उठाएका यस्ता गीतका भिडियोले सामाजिक सन्देश दिइरहेका छन् । यसैबीच शिवानी भट्टराईले महिला हिंसाको विषयमा केन्द्रित रही अबन्धन ल्याएकी छन् ।

भट्टराईले गाएको यो गीतमा शब्द तथा संगीत पनि उनकै रहेको छ । महिला सशक्तिकरणको विषयलाई जोड दिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायिका शिवानीको अभिनय छ । भिडियोमा उनीसँगै अभिनेता तथा गायक प्रशान्त तामाङको अभिनय छ । प्रशन्न शाक्यले निर्देशन गरेको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायांकन रहेको छ । भिडियोलाई प्रवीन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया