आफ्नो माग पूरा नभए वडाध्यक्षद्वारा ज्यानै मार्ने धम्की

काठमाडौं । एक वडाध्यक्षले आफ्नो माग पूरा नगरिदिएको खण्डमा ज्यानै मार्ने धम्की दिएका छन् । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–८ का वडाध्यक्ष खेम न्यौपानेले जग्गाको विषयमा ज्यानै लिने धम्की दिएका हुन् । उनले भूमाफियासँग मिलेर आफूले मागेको जग्गा नबेचे ज्यानै मार्ने धम्की दिएको जनाइएको छ ।

जनप्रतिनिधिले सर्वसाधारणलाई कार्यालयमै बोलाएर आफ्नो जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएका छन् । उक्त जग्गाधनी ईश्वरमणि निरौलाले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा वडा अध्यक्षसहित भूमाफियाले जग्गा बेच्न धम्की दिएको भन्दै सुरक्षाका लागि निवेदन दिएपछि जनप्रतिनिधिको धम्कीबा सार्वजनिक भएको हो । जग्गाधनी निवेदक निरौलाले आफ्नो १ कठ्ठा सवा १२ धूर जग्गाको लागि वडाध्यक्ष र भूमाफियाबाट पटक–पटक जग्गा बेच्न दबाब आउने गरेको उजुरी दिएका छन् ।

उनले वडाध्यक्ष खेम न्यौपानेसहित भूमाफिया निराजन बस्नेत, अशोक पौडेल, सुवास कार्की, बाबुराम भट्टराई र सन्तोष पोखरेलविरुद्ध उजुरी दिएका छन् । पीडित निरौलाले आफू र आफ्नो परिवार अन्याय र त्रासमा परेको भन्दै जिउधन काेसुरक्षा गरिपाऊँ भन्दै प्रहरीमा यही साउन २३ गते उजुरी दिएको जानकारी दिए ।

‘वडा अध्यक्ष खेम न्यौपानेले आफ्नो अगुवाइमा निरौलाका बाबुलाई वडा कार्यलयमा बोलाई छोराले जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएको’ उक्त सार्वजनिक निवेदनमा उल्लेख गरिएको छ । तर, वडाध्यक्ष न्यौपानेले भने वडामा उजुरी परेकाले आफूले मिलाउनको लागि दुवै पक्षलाई बोलाएको दाबी गरेका छन् । यसबारे प्रहरीले गम्भीरपूर्वक अनुसन्धान हुने जनाएको छ ।

प्रतिक्रिया