देशकै दोस्रो पुरानो हाइस्कुल जीर्ण बन्दै

बारा । काठमाडौको दरबार हाइस्कुलपछि राणाहरूले निर्माण गरेको नेपालकै दोस्रो कलैयाको हाइस्कुल नामले परिचित श्री ३ चन्द्र माध्यमिक विद्यालय जीर्ण बन्दै गएको छ । शिक्षकहरूको लापरवाही, अभिभावकहरूको मौनता, व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको निजी स्वार्थ लगायतको कार्यहरूले गर्दा कलैया उपमहानगरपालिका–१ मा कलैयाको देवकोटा चोकमा रहेको उक्त विद्यालय दिनप्रतिदिन जीर्ण बन्दै गएका हो ।

विद्यालयको भवन जीर्ण बन्नुको साथै यसको शैक्षिक अवस्था खस्कँदै गएकाले हाइस्कुलको भविष्यसमेत अन्योलमा परेको गुनासो गरिएको छ । १५÷२० वर्ष पहिला विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू देशको सरकारी तथा निजी सेवाको उच्च तहमा पुग्नुको साथै विदेशहरूमा पनि राम्रो गरेर देश र श्री ३ चन्द्र हाइस्कुलको नाम उचाइमा पु¥याएका छन् । अहिले विद्यालयको शैक्षिक स्तर नै खस्केको र यसलाई सुधार्न जिम्मेवार निकायहरूले आफ्ना जिम्मेवारी पूरा नगरेको स्थानीयहरूको आरोप छ ।

श्री ३ चन्द्र माध्यमिक विद्यालयको शैक्षिक स्तर खस्कँदै जानुको साथै विद्यालयको भवनसमेत जीर्ण बन्दै गएको शिक्षाप्रेमी तथा बुद्धिजीवी दिब्यनाथ श्रेष्ठले गुनासो गरेका छन् । ०५४÷५५ सालतिर विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत बनेर कार्यकाल पूरा गरेका श्रेष्ठले नेपालकै दोस्रो हाइस्कुलको रूपमा स्थापना भएको श्री ३ चन्द्र विद्यालय चौतर्फी प्रहारमा परेको बताएका छन् । शिक्षकहरू विद्यालय र विद्यार्थीप्रति जवाफदेही नबन्नु विद्यालयको बेथितिको बारेमा अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूले विरोध नगर्नाले विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको उनले बताए । अहिले विद्यालयको पुरानो भवन जीर्ण भएर भत्किने अवस्थामा पुगेको श्रेष्ठले चिन्ता व्यक्त गरेका छन ।

०५४ सालतिर विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहे पनि हाल उक्त संख्या घटेर पाँच सयको हाराहारीमा पुगेको उनले जानकारी दिए । बर्सेनि क्रमिक रूपमा विद्यार्थीको संख्या घट्दै गएकोले यसको बारेमा गम्भीर भएर कलैयावासीले सोच्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ । सांसद विधायक मेयर वडाध्यक्ष लगायतका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र अभिभावकहरू सबैले समयमै विद्यालयलाई सुधार्नेतिर ध्यान दिनुपर्नेमा उनको जोड छ ।

श्री ३ चन्द्र माध्यमिक विद्यालयमा बजेट प्रर्याप्त रहे पनि बजेट रकमलाई शैक्षिक सुधार र पुरानो भवनलाई पुनःनिर्माण गर्न खर्च गर्न कार्यमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले ध्यान नदिएको सरोकारवालाहरूको गुनासो छ । मनवत कलैया मटिअर्वा हुलाकी सडकमा विद्यालयको भौतिक संरचना र जग्गा पर्दा त्यसबाट ९० लाख जति मुआब्जा रकम आएको कलैया उपमहानगरपालिका प्रदेशसभा सदस्य लगायतबाट बजेट प्राप्त भए पनि रकम गरिएको खर्च पारदर्शी नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् ।

कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष हरिओम साह सोनार विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहे पनि विद्यालयको शैक्षिक अवस्था सुधार्न भत्किँदै गएको पुरानो भवन पुनःनिर्माण गर्न सक्रिय भएर नलागेको गुनासो गरिएको छ । कलैया उपमहानगरपालि–१ का वडाध्यक्ष हरिओम साह सोनारले विद्यालयलाई सुधार तथा पुनःनिर्माण गर्ने योजना आफूहरूको रहेको बताएका छन् । विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि बजेट प्रदेश सरकारबाट माग गरिएको उनले जानकारी दिए ।

प्रदेश सरकारबाट बजेट नआए विद्यालयले पाएको मुआब्जा बापतको रकमबाट थप पूर्वाधार सुधारको काम गरिने उनले जानकारी दिएका छन् । प्रदेश सरकारबाट ५० लाख कलैया उपमहानगरपालिका–१ मा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई प्रदेश–२ का सरकारले नमुना विद्यालयअन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ३ माघमा प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनालले विद्यालयको अनुगमन गर्दै सहयोग रकम दिने घोषणा गरेका थिए । १९८४ सालमा स्थापनमा गरिएको देशकै दोस्रो र जिल्लाकै पुरानो विद्यालयको पुनःनिर्माण र शैक्षिक गुणस्तर सुधार गर्नका लागि प्रदेश चालु आवमा ५० लाख रुपैयाँ सहयोग गर्ने मन्त्री सोनलले बताएका थिए ।

प्रतिक्रिया