देवघाटमा दाहसंस्कारको लागि दाउराको अभाव

चितवन । सालको काठ दाउरा ढुवानीमा रोक लागेसँगै पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ । सरकारले तराईका जिल्लामा काठमा अनियमितता भएको भन्दै ढुवानीमा रोक लगाएपछि अभाव भएको हो ।

देवघाट क्षेत्र विकास समितिले गत चैत १० गते जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासीबाट सालको दाउरा खरिद गरी ल्याउने तयारी गर्दै गर्दा लकडाउनले रोकिएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार चैत ६ गते खरिद गरेर १० गते छोडपूर्जी समेत प्राप्त भएको भए पनि ल्याउन सकिएको थिएन । पछि जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले सालका काठ दाउरा ढुवानीमा रोक लगाएपछि ल्याउन नपाईएको उनले बताए ।

समितिले रु आठ लाख ८३ हजार भुक्तानी गरी ५० चट्टा दाउरा खरिद गरेको थियो । पौडेलले भने, ‘दाउरा किन्यौँ, ल्याउने बेलामा लकडाउन भयो, पछि सरकारले नै रोक लगायो ।’ दाहसंस्कारका लागि अब १५ देखि २० दिनका लागि मात्रै दाउरा भएको उनले बताए । त्यसपछि दाउराको अभाव हुनेछ ।

एक चट्टा दाउराले १४ वटासम्म शव दाहसंस्कार गर्न पुग्ने गर्दछ । देवघाटमा दैनिक १०–१२ वटा शव आउने गर्दछन् । यो क्षेत्रीयस्तरको दाहसंस्कार स्थल हो । चितवन र आसपासका जिल्लाबाट दाहसंस्कारका लागि यहाँ ल्याउने गरिन्छ ।

समितिले वन मन्त्री, सचिवलगायत सरोकारवालासँग यस बारेमा जानकारी गराएको भए पनि मन्त्रिपरिषद्को निर्णय भएका कारण फुकुवा हुन सकेको छैन । दाहसंस्कार अत्यावश्यक भएकाले यसलाई तत्काल निकास दिन समितिले आग्रह गरेको छ । दाहसंस्कारका लागि ओभानो र राम्रो बल्ने भएकाले सालको दाउरा प्रयोग गरिन्छ ।

समितिले बर्सेनि रु ८० लाख हाराहारीको दाउरा खरिद गर्ने गरेको छ । देवघाटमा अन्त्येष्टि गरेमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ । ग्रामीण क्षेत्रबाट आउने कतिपयले घरबाटै दाउरा ल्याउने भए पनि अधिकांशले त्यहीँ किनेर अन्त्येष्टि गर्ने गर्छन् । यहाँ ल्याउने प्रायः सबै शव जलाउने गरिन्छ । – रासस

प्रतिक्रिया